Butwal Today

गौरवको सडकले झस्कायो सरकार

१९ चैत्र २०८२, बिहीबार
अ+
अ-

पाल्पा । लुम्बिनी प्रदेश सरकारको ‘गौरवको आयोजना’ भनेर घोषणा गरिएको रामपुर–कपुरकोट सडकले अन्ततः काम थालेको छ ।

आठ वर्षसम्म बजेट अभाव र सरकारी उदासीनताले थन्किएको पाल्पाको हार्थोक–बतासे (छहरा) खण्डमा अहिले स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढ्न थालेपछि स्थानीयमा नयाँ आशा पलाएको छ ।

पहाडी जिल्लालाई जोड्ने महत्त्वपूर्ण सडकका रूपमा लिइएको यो खण्ड लामो समयदेखि धुलो र हिलोले हैरान पार्दै आएको थियो । वर्षा याममा यात्रा जोखिमपूर्ण र कष्टकर बन्थ्यो भने हिउँदमा धुलोले दैनिक जनजीवन प्रभावित हुन्थ्यो । तर, पछिल्लो समय चौतर्फी दबाबपछि प्रदेश सरकारले ५ किलोमिटर सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेसँगै कामले गति लिएको हो ।

तीन महिनाअघि सुरु भएको निर्माण कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको स्थानीयवासी बताउँछन् ।

लामो प्रतीक्षापछि सुरु भएको कामलाई समयमै सम्पन्न गराउन स्थानीय तह, जनप्रतिनिधि र बासिन्दा स्वयं सक्रिय रूपमा लागिपरेका छन् । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार, “सडक निर्माणमा देखिएका समस्या स्थानीय स्तरमै समाधान गर्ने प्रयास भइरहेको छ, जसले कामलाई सहज बनाएको छ ।”

हाल हार्थोक–बतासे खण्डमा सडक चौडाइ बढाउने, रिटेनिङ पर्खाल निर्माण, सडकको बेस (जग) तयार गर्ने, लेभल मिलाउने तथा नाली निर्माणका काम एकसाथ भइरहेको छ । मापदण्डभित्र पर्ने संरचना हटाउने काम सकिएपछि निर्माणले अझ गति लिने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्रदेश सडक यातायात पूर्वाधार निर्देशनालय, बुटवलका वरिष्ठ इन्जिनियर तथा सूचना अधिकारी अरुण गुप्ताले तोकिएको समयमै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको जानकारी दिए । “स्थानीय तह, जनप्रतिनिधि र निर्माण व्यवसायीबिच समन्वय राम्रो छ, त्यसैले काम निर्धारित मितिभन्दा अघि नै सक्ने प्रयास भइरहेको छ,” उनले भने ।

यो खण्डको स्तरोन्नतिका लागि १६ करोड ३१ लाख रुपैयाँ लागतमा एमएस राजेश्वरी–रमानिया–आर एण्ड आर जेभीले काम गरिरहेको छ । सम्झौताअनुसार २०८४ असोज २६ भित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले लक्ष्यभन्दा करिब ६ महिना अघि नै काम सक्ने दाबी गरेको छ । निर्माण कम्पनीका साइट इन्चार्ज अरुण ज्ञवालीका अनुसार, “अहिले काम द्रुत गतिमा भइरहेको छ। आवश्यक सहयोग मिलिरहेमा समयअघि नै सम्पन्न गर्ने लक्ष्य छ ।”

प्रदेश सरकारले २०७४ सालमै कर्णाली प्रदेशको सिमानादेखि गण्डकी प्रदेशको सिमानासम्म जोड्ने गरी करिब ३१० किलोमिटर लामो रामपुर–कपुरकोट सडकलाई गौरवको आयोजना घोषणा गरेको थियो । तर, स्थिर सरकारको अभाव र प्राथमिकतामा नपर्दा यस आयोजनाले वर्षौँसम्म बजेट पाउन सकेन। परिणामस्वरूप, पाल्पाको हार्थोक–छहरा खण्ड आठ वर्षसम्म उपेक्षित रह्यो ।

चालु आर्थिक वर्षमा मात्र बजेट सुनिश्चित भएपछि काम सुरु भएको हो । अहिले प्रदेश सरकार, पूर्वाधार निर्देशनालय, स्थानीय तह, निर्माण व्यवसायी र स्थानीयवासीबीचको सहकार्यले कामलाई प्रभावकारी बनाएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले यो सडक पश्चिम पाल्पाको ‘लाइफलाइन’ भएको उल्लेख गर्दै निर्माण सम्पन्न भएपछि स्थानीय जनजीवनमा उल्लेखनीय परिवर्तन आउने विश्वास व्यक्त गरे ।

रामपुर–कपुरकोट सडकअन्तर्गत पाल्पाको हुमिन–ताहुँ ५ किलोमिटर र हार्थोक–कुसुमखोला खण्डको ५ किलोमिटर क्षेत्रमा अहिले स्तरोन्नतिको काम भइरहेको छ ।

विगतमा वर्षौंदेखि सास्ती खेपेका स्थानीय अब भने सहज, सुरक्षित र दिगो यातायातको प्रतीक्षामा छन् । तर, यो परियोजना समयमै सम्पन्न हुन्छ कि फेरि ‘गौरवको योजना’ भन्ने नाममै सीमित रहन्छ त्यो भने आगामी कार्य प्रगतिले तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?