Butwal Today

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

११ चैत्र २०८२, बुधबार
अ+
अ-

सिरहा । गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।

खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए ।

मृतक यादवका दुई नाबालक छोरा छन् । घरको मुख्य सहाराकै हत्यापछि परिवार बिचल्लीमा परेको छ ।

कक्षा १० मा अध्ययनरत जेठो छोरो रामजनम यादवले आफ्नो र भाइको भविष्य अन्योलमा परेको बताए । “हाम्रो सहारा बुवा नै हुनुहुन्थ्यो, अब हाम्रो भविष्य अन्योलमा परेको छ”,  उनले भने ।

घटनाको ५४ दिन बितिसक्दा पनि मुख्य दोषीको पहिचान हुन नसक्दा पीडित परिवारमा निराशा र आक्रोश बढेको छ । मृतकका भाइ अभयनाथ यादवले प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै भने, “प्रहरीले अनुसन्धान भइरहेको छ मात्रै भन्छ, तर अहिलेसम्म दोषी पत्ता लागे नलागेका बारेमा कुनै जानकारी दिन सकेको छैन ।”

प्रहरीले सुरुमा घटनाका प्रत्यक्षदर्शी राम विलास यादव र रामप्रसाद महरालाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि २३ दिनपछि उनीहरूलाई रिहा गरेको थियो ।

पीडित पक्षले हत्यामा संलग्नलाई यथाशीघ्र कारबाही गरी न्यायको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वासुदेव पाठकले घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार हालसम्म शङ्कास्पद १४ जनालाई अनुसन्धानको दायरामा ल्याएर सोधपुछ गरिएको छ ।

प्रहरीले यस घटनाको गम्भीरतालाई हेरेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँगको समन्वयमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी उपरीक्षक पाठकले भने , “अनुसन्धानका क्रममा केही महत्त्वपूर्ण सूचना प्राप्त भएका छन् । शङ्कास्पद व्यक्तिहरू प्रहरीको निगरानीमा छन् । दोषी चाँडै पक्राउ पर्नेमा हामी विश्वस्त छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?