Butwal Today

शङ्कर बेली सिमसारमा दैनिक हजारौँ पर्यटक

१० चैत्र २०८२, मंगलवार
अ+
अ-

धरान (सुनसरी) । यहाँको रामधुनी नगरपालिका–६स्थित शङ्कर बेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

१३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीय स्थलका रूपमा विकास गरिएको हो ।

सिमसार व्यवस्थापन समितिका पूर्व अध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक हजारौँ पर्यटक आउने गरेका छन् । वनभोजका याममा दैनिक १० हजार बढी र ‘अफ सिजन’मा दैनिक १५० बढी पर्यटक आउने गरेको राईले बताए ।

कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि यहाँ आउनेको भीड हुने उनले बताए । शङ्कर बेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको उक्त सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्त स्थल मानिन्छ ।

सिमसार वरपरका शिरीषका फूल वैशाख महिनामा फुल्दा यस क्षेत्रको सौन्दर्यले आकर्षित गर्ने गर्छ । सो समयमा पर्यटकको चाप पनि बढ्ने गरेको समितिको भनाइ छ ।

एकै पटक करिब ११० टोलीले वनभोज खान सक्ने क्षमता रहेको यस क्षेत्र वनभोजका लागि उपयुक्त स्थल मानिन्छ । वनभोजका लागि आउने टोलीबाट ३०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ । उक्त रकमबाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ ।

करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोसी प्रदेश सरकारद्वारा गत आर्थिक वर्ष २०८०र८१ मा विनियोजित दुई करोड रुपैयाँले विभिन्न पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका सदस्य निश्चल तामाङले जानकारी दिए ।

पोखरीको बिचमा अवस्थित रामधुनी नगरपालिकाको सहयोगमा करिब एक लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ले सिमसारको आकर्षण थप बढाएको छ । यहाँ धरान, इटहरी, विराटनगर, झापा र उदयपुरलगायत भारतबाट पर्यटक आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?