Butwal Today

कमजोर नतिजापछि नेकपामा कारबाहीभन्दा आत्मसमीक्षाको दबाब

९ चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ।
पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन परिणामसम्बन्धी पछिल्लो अभिव्यक्तिले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा व्यापक चासो पैदा गरेको छ। गत शुक्रबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले ‘घण्टी’ चिन्हमा भोट हाल्ने केन्द्रीय सदस्यहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए। “ठोस प्रमाण ल्याउनुस्, को–को घण्टीतिर लागेको देखियो, तिनलाई हामी आँखा चिम्लिएर कारबाही गर्छौं,” उनले भनेका थिए।

यद्यपि, उक्त अभिव्यक्तिलाई धेरै नेताहरूले राजनीतिक सन्देशका रूपमा मात्रै लिनुपर्ने बताएका छन्। पार्टी एकतापछि अपेक्षित नतिजा नआएपछि गम्भीर समीक्षा आवश्यक रहेको नेताहरूको धारणा छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित २५ समूहबीचको एकतापछि बनेको नेकपाले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि संगठन, रणनीति र नेतृत्वकै भूमिकामाथि प्रश्न उठेको छ। पार्टीभित्र पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल सहित शीर्ष नेताहरूको ठूलो संख्या भए पनि चुनावी परिणाम कमजोर आएको छ।

फागुन २१ को निर्वाचनमा नेकपा १७ सिटमा सीमित भएको छ। यस्तो अवस्थामा अब चाँडै समीक्षा बैठक बस्ने तयारी गरिएको नेता डा.बेदुराम भुसालले जानकारी दिएका छन्। तर पार्टीको आन्तरिक संरचना अझै स्पष्ट नभएको देखिन्छ। नेकपा बन्दैगर्दा १२५ जनाको सचिवालय बनाउने प्रस्ताव पनि गरिएको थियो । फेरि शीर्ष नेताहरू रहनेगरी कार्य संयोजन समिति बनाउने निर्णय पनि भयो । तर नेताहरू को–को रहने भन्ने निर्णय हुन सकेको छैन । केन्द्रीय सदस्यहरूको पहिचान, कार्यकारी कमिटी गठन तथा जिम्मेवारी बाँडफाँटसमेत टुंगो नलागेका कारण कारबाहीभन्दा बढी समग्र पराजयको समीक्षा आवश्यक रहेको नेताहरूको भनाइ छ।

नेताहरूका अनुसार व्यक्तिगत रूपमा दोष खोज्नु भन्दा पार्टी किन कमजोर भयो भन्ने आधारभूत प्रश्नमा केन्द्रित हुन जरुरी छ। नेतृत्वकै अभिव्यक्ति र रणनीतिले कार्यकर्तामा अन्योल सिर्जना गरेको आरोपसमेत उठिरहेको छ। समग्रमा, नेकपाभित्र अहिले कारबाहीभन्दा बढी आत्मसमीक्षा र संगठन पुनर्गठनको आवश्यकता रहेको नेताहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?