Butwal Today

पाल्पाको तिनाउ नदीमा नुहाउने क्रममा डुबेर एक भारतीय नागरिकको मृत्यु, एक बेपत्ता

९ चैत्र २०८२, सोमबार
अ+
अ-

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ अन्तर्गत तिनाउ नदीको जलविद्युत् बाँध क्षेत्रमा नुहाउने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का एक जना अझै बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, भारतबाट नेपाल घुम्न आएका ७ जनाको टोलीमध्ये दुई जना आइतबार चैत ८ गते दिउँसो करिब ४ बजे नुहाउने क्रममा तिनाउ नदीले बगाएर बेपत्ता भएका थिए ।

मृतक भारतको उत्तर प्रदेश, सन्तकबिर नगर, मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ बस्ने १७ वर्षीय अमान अन्सारी रहेका छन् । सोही स्थानका १७ वर्षीय फहरान अन्सारी भने हिजोदेखि नै बेपत्ता रहेका छन् ।

घुम्न आएका टोलीका अन्य ५ जना सदस्यहरू भने सकुशल रहेका छन् ।

घटनाको जानकारी पाउनासाथ दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो । प्रहरीले हिजोदेखि नै नदीमा डुबेका व्यक्तिहरूको खोजतलास गरे पनि उनीहरूको अवस्था पत्ता लगाउन सकेको थिएन ।

खोजतलासका क्रममा सोमबार बिहान करिब १०:२० बजे अमान अन्सारीको शव घटनास्थलबाट करिब १०० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिएका छन् ।

बेपत्ता रहेका अर्का किशोर फहरान अन्सारीको खोजी कार्य अझै जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?