© 2026
पाल्पा । तानसेन नगर सरकारले खेतीयोग्य जमिन भए पनि कामदारको कारण बाँझो रहेको जमिनमा खनजोत गरी खेती गर्नेलाई अनुदानको व्यवस्था गरेको छ ।
नगर सरकारले विशेष गरी नयाँ पुस्तालाई लक्षित यो कार्यक्रमबाट गाउँ बस्तीमा नै रोजगारीको अवसर सिर्जना गर्न कृषि उत्पादनमा जोड दिँदै कृषि उपजमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको हो ।
कृषिको प्रचुर सम्भावना भए पनि नयाँ पुस्ताको वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्दै जाँदा खेती योग्य जमिन बाँझो हुने क्रम बढ्दै गएपछि नगर सरकारले युवा तथा नयाँ पुस्ताका लागि कृषिको माध्यमबाट रोजगारीको अवसर सृजना गर्ने कार्यक्रम थालनी गरेको नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ बताए ।
खेती योग्य जमिन पर्याप्त भए पनि गाउँ बस्तीमा युवा विहीन हुँदा गाउँ सुनसान हुने क्रम बढ्यो । त्यसै गरी खेती योग्य जमिन बाँझो राखेर ग्रामीण बस्तीबाट सहर केन्द्रित हुने क्रमलाई रोक्दै युवा पुस्तालाई कृषिको माध्यमबाट रोजगार बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए ।
पहिलो वर्ष २ सय रोपनी क्षेत्रफलको लक्ष्य राखिएको छ । बाझिएको जमिनमा खनजोत गरी तरकारी, अन्न बाली, फलफूल, मसलाजन्य खेतीले गर्दा स्थानीय सरकारले प्रति रोपनी ५ हजारका दरले अनुदान उपलब्ध गराउने नगर सरकारका सूचना अधिकारी भरत आचार्यले बताए ।
कृषिबाट दिगो आम्दानी लिने उद्देश्यले नगर सरकारको यो कार्यक्रममा आफ्नो जमिन नभए पनि भाडामा लिएर खेती गर्नेका लागि यो कार्यक्रम समावेश गरिएको नगरपालिकाका कृषि प्राविधिक आशिमा कार्की बताउँछिन् ।
अदुवा बेसार तरकारी खेतीका लागि उर्वर ठानिने भएका कारण पहिले तरकारी खेती बाट ख्याती कमाएका गाउँमा पछिल्लो समयमा बाहिरबाट उत्पादित तरकारीले प्रवेश पाएको थियो ।
यस आर्थिक वर्षबाट थालनी भएको यो कार्यक्रम सबै भन्दा बढी वडा नम्बर ९ मा २५ जना वडा नम्बर ८ मा ६ जना र वडा नम्बर २ र ५ मा कार्यक्रम भित्र समावेश भएको उनले बताइन् । नगर सरकारले पहिलो वर्ष यस कार्यक्रमका लागि झन्डै १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
तानसेन नगरको अर्गली मदनपोखरा, छेर्लुङ, सेती पोखरी, बाँझा जस्ता गाउँ तरकारीको पकेट क्षेत्र पर निर्भर हुने क्रम बढेको छ ।
नगरको वौधा गुम्वा, वौधा पोखराथोक, तेल्घाको माथिल्लो बस्ती, मदनपोखरा, बन्दी पोखरा जस्ता गाउँ बस्ती सुन्तला र अदुवाको पकेट क्षेत्र हुन् । भारतीय बजारमा निर्भर अदुवा पछिल्लो दशकमा भारत बजारमा नेपाली अदुवा प्रवेश नपाएपछि अदुवा खेती क्रमिक रूपमा हराउन पुगेको थियो ।
पछिल्ला केही वर्षमा अदुवाको उत्पादन घट्ने, मूल्य बढ्ने भएपछि नगर भित्रका केही कृषकहरूले जमिन भाडामा लिएर अदुवाको व्यावसायिक खेती थालनी गरेका छन् ।