© 2026
दमौली (तनहुँ) । डिभिजन वन कार्यालय तनहुँले वन डढेलो नियन्त्रणका लागि सामुदायिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।
वन क्षति न्यूनीकरण र समुदायलाई जिम्मेवार बनाउने लक्ष्यसहित समुदाय स्तरमा पुगेर वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए।
उनका अनुसार जिल्लामा ६२५ वटा सामुदायिक छन् । बाँदर र अन्य वन्यजन्तुले बाली र वनस्पतिमा क्षति पु-याएको भन्दै कतिपयले जानीजानी सामुदायिक वनमा डढेलो लगाउने गरेको पाइएकाले सचेतना कार्यक्रम आवश्यक रहेको रानाभाटले बताए ।
उनले भने, “कतिपय स्थानमा किसानहरूले बाँदरले समस्या पु-याएको भन्दै जानीजानी डढेलो लगाउने गरेको पाइन्छ । यसबाट वनमा व्यापक क्षति हुने र वातावरणीय सन्तुलन बिग्रने खतरा बढ्ने भएकाले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएका छौँ ।”
उनका अनुसार वन डढेलो सप्ताहव्यापी कार्यक्रमको लक्ष्य भनेको डढेलो लाग्न नदिनु र लागेमा सुरक्षित रूपमा नियन्त्रण गर्नु हो । “वन डढेलो नियन्त्रणमा सबैभन्दा नजिक समुदाय छन् । त्यसैले सबै तहका समुदायलाई परिचालन गरेर सूचना, उपाय र सुरक्षा सम्बन्धी प्रशिक्षण दिने योजना बनाइएको छ”, उनले भने ।
प्रमुख रानाभाटका अनुसार प्रत्येक सामुदायिक वनमा आगो लगाउने जोखिम र त्यसबाट हुने नोक्सानीसम्बन्धी जानकारी प्रदान गरिनेछ । सुरक्षित डढेलो नियन्त्रण विधि ८८ र आकस्मिक अवस्था सामना गर्ने उपायबारे प्रशिक्षण गराइने । सबै सदस्य सचेत भएनन् भने डढेलो नियन्त्रण प्रभावकारी हुन नसक्ने भएकाले समुदायसँग सहकार्य र निरन्तर संवाद गरिने उनको भनाइ छ ।
रानाभाटका अनुसार सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ । वन डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनको भनाइ छ । उनले भने, “वन डढेलोले तापक्रम बढाउनुका अतिरिक्त वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्ने, माटो नाङ्गो र कमजोर बनाई भलको बहाव र गति बढाई भूक्षय, बाढी, पहिरो, डुबानजस्ता प्रकोपले धन, जन र सम्पदामा क्षति पुग्छ ।”
वन डढेलोले कम्तीमा दश प्रतिशत तापक्रम बढाउने प्रमुख रानाभाटले जानकारी दिए । डढेलोबाट भुईँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको वासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने र वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिम हुने उनले बताए ।
गर्मी मौसममा बिडी, चुरोट खाएर ननिभाइ वनमा फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलो बढ्न सक्ने भएकाले यसतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।