Butwal Today

अनुमति विवादबिच राप्तीमा सुन अन्वेषण

४ चैत्र २०८२, बुधबार
अ+
अ-

नेपालगन्ज  । बाँकेको राप्ती नदी किनारमा सुनको सम्भावित भण्डार खोज्ने अन्वेषण कार्य पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

राप्ती सोनारी गाउँपालिका–६ अन्तर्गत राप्ती नदी किनारमा करिब एक महिना अघि रोकिएको यो प्रक्रिया फेरि सुरु गर्न सम्बन्धित कम्पनीले स्थानीय तहसँग अनुमति लिन सक्रियता बढाएपछि विषय पुनः चर्चामा आएको हो ।

गत फागुनको पहिलो सातातिर पाँच जना चिनियाँ नागरिकसहितको टोलीले नदी किनारमै प्लान्ट जडान गरी सुन अन्वेषण सुरु गर्न लागेको जानकारी पाएपछि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले उक्त कार्य तत्काल रोक लगाएका थिए ।

स्थानीय तहलाई जानकारी नदिई गरिएको गतिविधिप्रति असन्तुष्टि जनाउँदै अन्वेषण स्थगित गरिएको थियो । राप्ती सोनारी–६ का वडा अध्यक्ष लवराज खरेलका अनुसार अहिले कम्पनीका प्रतिनिधिहरू दैनिक जसो वडामा पुगेर पुनः सञ्चालनका लागि अनुमति मागिरहेका छन् ।

“हाम्रो वडाभित्र पर्ने क्षेत्रमा प्लान्ट राखेर अन्वेषण भइरहेको थियो, तर हामीलाई कुनै जानकारी नै थिएन,” उनले भने, “अब उनीहरू अनुमति लिन आए पनि कागजात स्पष्ट नभएसम्म हामी अनुमति दिन सक्दैनौँ ।” खरेलका अनुसार अन्वेषण गर्न आएको टोलीले त्यस बेला खानी तथा भूगर्भ विभागको पत्र देखाए पनि आवश्यक कागजात र प्रक्रियाहरू पूरा नभेटिएपछि काम रोक्नुपरेको थियो ।

उनका अनुसार ‘ग्रेस नात माइनिङ कम्पनी’ ले राप्ती सोनारी गाउँपालिका–५ लाई आफ्नो कार्यालय ठेगाना उल्लेख गर्दै अनुमति लिएको देखिन्छ, तर अन्वेषण कार्य वडा नम्बर ६ मा गर्न खोजिएकोले त्यसमा फेरी विवाद देखिएको छ ।

“एउटा वडाको ठेगाना राखेर दर्ता भएर अर्को वडामा काम कसरी गर्न पाइन्छ ? स्पष्ट आधार नहुँदा हामीले अन्वेषण टोलीलाई फर्काइदिएका छौँ,” उनले बताए । उनले भने, “पाँच जना चिनियाँ नागरिकको दोभासे एक जना पनि छैन, सम्बन्धित वडालाई जानकारी छैन, यो कार्य शङ्कास्पद छ ।”

जिल्ला प्रशासन कार्यालय बाँकेले पनि अनुमति प्रक्रियामा अस्पष्टता देखिएको भन्दै हालसम्म अन्वेषण कार्यमा रोक कायमै राखेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार सम्झौतामा विदेशी नागरिकसहितको टोलीले अन्वेषण गर्न पाउने स्पष्ट व्यवस्था नभएकाले अनुमति नदिइएको हो ।

“विदेशी नागरिकले अनुमति विना यस्तो काम गर्न पाउने कुरा हुँदैन, पत्रमा उल्लेख गरिएको पनि पाइएन त्यसैले अहिले रोकेरै राखेका छौँ,” उनले स्पष्ट पारे । उद्योग मन्त्रालयबाट बोधार्थ पत्र प्राप्त भए पनि अन्वेषण गरिने ठोस स्थान स्पष्ट नभएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको प्रशासनले जनाएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार हाल राप्ती र कर्णाली नदीका विभिन्न पाँच स्थानमा सुनको सम्भावना खोज्ने अन्वेषण भइरहेको छ । विभागको जीआईएस पोर्टलमा उल्लेख भएअनुसार राप्ती सोनारी क्षेत्रमा ‘ग्रेस नात माइनिङ कम्पनी’ ले २०८२ मङ्सिर २९ गतेदेखि २०८६ मङ्सिर २९ सम्मका लागि अन्वेषण अनुमति पाएको छ ।

यस्तै, कर्णाली नदी किनारको कैलालीतर्फ पाँच स्थानमा तीन कम्पनीले अन्वेषण अनुमति लिएका छन् । टीकापुर क्षेत्रमा पर्ने चार स्थानमध्ये दुई स्थानमा ‘ग्लोभहब प्रालि’ तथा अन्य स्थानमा ‘भोल्टोरो मिनरल प्रालि’ र ‘रिवायर नेपाल प्रालि’ले अनुमति पाएका छन् ।

विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार अन्वेषण अनुमति प्राप्त कम्पनीहरूले खनिजको सम्भावना अध्ययन मात्र गर्न पाउनेछन्, उत्खनन गरेर बिक्री गर्न भने पाइँदैन ।

यसैबिच, राप्ती र कर्णाली नदी क्षेत्रमा परम्परागत रूपमा सुन चालेर जीविकोपार्जन गर्दै आएका खुना र सोनाहा समुदायको भविष्य र अधिकारको विषय पनि उठ्न थालेको छ ।

उनीहरूले नदीको स्रोतमा अनियन्त्रित अन्वेषण भए आफ्ना परम्परागत अधिकार र जीविकोपार्जन प्रभावित हुने भन्दै स्थानीय तह र प्रशासनसँग सक्रिय रूपमा समन्वय र संरक्षणको माग गरेका छन् ।

यस विषयमा समुदाय, प्रशासन र सम्बन्धित निकायबिच सहमतिका उपायहरू नबन्दा अन्वेषणको सुरुवात र त्यसको प्रभाव अझै अनिश्चित रहेको बताइएको छ । स्थानीय तह, प्रशासन र सम्बन्धित निकायबिच समन्वय नहुँदा अन्वेषण कार्य फेरि सुरु हुने या नहुने अझै अन्योलमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?