Butwal Today

वनस्पति उद्यानमै उद्योगको सडक, सरोकारवाला मौन

३० फाल्गुन २०८२, शनिबार
अ+
अ-

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा वनस्पति उद्यानका लागि छुट्टाइएको वन क्षेत्रमै उद्योगले सडक निर्माण गरेको विषयमा सरोकारवाला निकाय मौन बसेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

सुनवल नगरपालिका–७ ज्यामिरेस्थित कजरार खोलानजिकको वन क्षेत्र बोटानिकल गार्डेन (वनस्पति उद्यान) निर्माणका लागि छुट्टाइएको भए पनि पछिल्ला वर्षहरूमा उक्त क्षेत्र अतिक्रमणको चपेटामा परेको देखिएको हो ।

उक्त क्षेत्रलाई बुद्ध शान्ति साझेदारी वन व्यवस्थापनको कार्य योजनाअन्तर्गत वनस्पति उद्यानका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको थियो । त्यस समय हाल लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई जिल्लामा सहायक वन अधिकृतका रूपमा कार्यरत थिए ।

सोही अवधारणा अनुसार वन क्षेत्र छुट्टाइए पनि हाल त्यसको संरक्षण र व्यवस्थापनमा ध्यान नदिइँदा अतिक्रमण बढ्दै गएको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार वनस्पति उद्यानका लागि छुट्टाइएको क्षेत्र चारैतिरबाट सडक निर्माण गरी घेरिएको छ भने भित्र मन्दिर, गाडी पार्किङ स्थललगायतका संरचना समेत निर्माण हुन थालेका छन् । जनप्रतिनिधिहरूले अतिक्रमण रोक्नुको सट्टा प्रोत्साहन गर्दा समस्या बढ्दै गएको स्थानीयको आरोप छ ।

सुरुमा उक्त क्षेत्र बुद्ध शान्ति साझेदारी वनभित्र पर्ने भए पनि पछि सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि वनस्पति उद्यान क्षेत्रको संरक्षण र व्यवस्थापनको जिम्मेवारी सामुदायिक वनले नै लिनुपर्ने साझेदारी वन समूहले जनाएको छ । तर सामुदायिक वनभित्र परेको उक्त क्षेत्रमै गैर कानुनी रूपमा सडक निर्माण भएको उनीहरूको भनाइ छ ।

स्थानीयका अनुसार पूर्व–पश्चिम राजमार्गसँग जोडिएको उक्त क्षेत्रमा जनप्रतिनिधि र वन कर्मचारीको मिलेमतोमा पाल्पा सिमेन्ट उद्योगले सडक निर्माण गरी चुनढुङ्गा ढुवानी गर्ने मार्गका रूपमा प्रयोग गर्दै आएको छ ।

भोगाधिकारसमेत नलिई निजी प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न दिइनु वन प्रशासनको कमजोरी भएको स्थानीयको आरोप छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी मुसाफिर भगतले भने सडक खोला किनारबाट निर्माण गरिएको दाबी गरेका छन् ।

तर स्थानीयले भने वन क्षेत्र अतिक्रमण गरी सडक बनाइएको भन्दै विरोध जनाउँदै आएका छन् । सम्बन्धित सामुदायिक वन समूहले अतिक्रमण रोक्नका लागि डिभिजन वन कार्यालयलाई पटक–पटक जानकारी गराए पनि हालसम्म कुनै प्रभावकारी कदम नचालिएको गुनासो गरेका छन् ।

सूचना अधिकारी भगतले भने अतिक्रमण रोक्न स्थानीयको समेत पहल आवश्यक रहेको बताएका छन् । स्थानीयका अनुसार उद्योगले वन कर्मचारीमाथि दबाब र प्रभाव प्रयोग गरी सडक निर्माण गराएको आरोप समेत उठेको छ ।

अहिले पनि उक्त सडक प्रयोगमा रहेको र वनस्पति उद्यानका लागि छुट्टाइएको क्षेत्र क्रमशः अतिक्रमणको जोखिममा परेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?