Butwal Today

अनुगमनको अभावमा विषादीको बाढी 

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

सरकार परिवर्तनको समयमा बजार अस्थिर हुन्छ । यो सर्वव्यापी नियम र सिद्धान्त हो । अहिले यही भइरहेको छ ।

नयाँ सरकार नबन्दासम्म बजार भाउ बढाउने काम मात्रै होइन, म्याद सकिएका सामान विक्री गर्ने, गुणस्तरहीन सामाग्रीले उपभोक्तालाई बेस्करी मारमा पारेको छ । त्यसमाथि विषादीको कारण नेपाली भान्सा स्वस्थकर हुन सकेको छैन ।

भारतबाट दैनिक आउने करोडौँ मूल्यका निषादीजन्य तरकारी तथा फलफूलले नेपाली बजार ढाकेको छ ।

ती बस्तुमा विषादीको मात्रा उच्च रहेको परिक्षण अनुसन्धानले देखाएको छ । एक महिना अघिको परिक्षणले पनि नेपाल भारत बोर्डरमै तरकारी तथा फलफूलमा बिषादी हाल्ने गरेको समेत देखिएको छ ।

तरकारी तथा फलफूल धेरै दिनसम्म नबिग्रियोस भन्ने उद्देश्यले बिषादीजन्य औषधी प्रयोग गर्ने गरिएको पाईएको छ । त्यसैगरी विभिन्न खाद्य पदार्थलाई आकर्षक रङमा सजाउन, फलफूल पकाउन, तरकारी उत्पादनमा वृद्धि गर्न र लामो समयसम्म सड्न र बिग्रिन नदिन विभिन्न प्रकारका रासायनिक तत्वको प्रयोग गरिनु उपभोक्ताका लागि हानिकार हुन्छ ।

यसरी प्रयोग गरिने रसायनको मात्रामा फरक भयो भने खाद्य पदार्थ विष बन्न पुग्छ । यसबाट उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्छ । कृषकले गाईवस्तु तथा बालीनाली संरक्षण गर्न र उत्पादन वृद्धि गर्न केही औषधिको प्रयोग गर्छन् ।

यो औषधी कसरी प्रयोग गर्ने भन्ने ज्ञान कृषक तथा खाद्य पदार्थ उत्पादन गर्ने उद्योगलाई दिनु जरुरी छ । पटक पटक हुने बजार अनुगमनबाट मानिसको स्वास्थ्यमाथि लापरवाही र खेलवाड गरि म्याद नाघेका सामान विक्री गरेको पाइएको छ ।

खासगरी मिठाईका पसल, खाद्यान्न र मासुका पसलले मानिसको स्वास्थ्यमाथि लापरवाही गर्ने गरिएको देखिएको छ । खाद्यान्न पसल, मिठाई र मासु पसल आदि उपभोक्तासंग प्रत्यक्ष जोडिएका पसल हुन । यीनमा पटकपटक अनुगमन गर्दा म्याद नाघेका, ढुसी लागेका सामाग्री फेला परेको थियो ।

जहाँ र जुन स्थानमा भएपनि उपभोक्ताको स्वास्थ्यमा असर पर्ने यी काम अझै रोकिएको छैन । भैरहवा र बुटवल लगायतका स्थानमा बजार अनुगमन गर्ने र लापरवाही गरिरहने प्रवृत्ति कायमै रहँदा पनि सम्वन्धित निकाय मौन छ । अर्कोतर्फ कारवाहीका नाममा सामान्य सचेत बनाउने काम भएको छ ।

अन्य मुलुकमा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने काम कहीँकतैबाट भयो भने त्यो क्षम्य हुँदैन तर नेपालमा पटकपटक लापरवाही हुँदा पनि उन्मुक्ति दिने काम रोकिएको छैन् ।

जबसम्म जनताको स्वास्थ्यमा खेलवाड गर्नेमाथि नसिहत पुग्नेगरि कारवाही हुँदैन तबसम्म यस प्रकारका गल्ती दोहोरिरहनेछ । त्यसकारण अव सम्वन्धित निकायको ध्यान जानु जरुरी छ ।

यही अवस्था दोहोरिँदै जाने हो भने कुनै दिन नेपाली कृषि उत्पादन विष वन्न पुग्छ । बजारमा उत्पादन र खपत हुने विभिन्न खाद्य पदार्थमा अखाद्य तत्वको मिश्रण हुने गरेको तथ्य यसअघि धेरैपटक बाहिर आइसकेको छ ।

अर्कोतर्फ कृषकहरूमा यस सम्बन्धी ज्ञानको कमीले गर्दा फलफूल तथा तरकारीजन्य खाद्यान्नमा विषादीको मात्रा बढी भएर उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको समाचार पनि आइरहेको छ ।

यो समस्याको हल गर्न सरकारले तत्काल नै केही खाद्य प्राविधिक खटाउनु आवश्यक छ । दीर्घकालीन रूपमा यो समस्या हल गर्न खाद्य शिक्षामा लगानी जरुरी देखिएको छ । कुनैपनि कम्पनीले उत्पादन गरेको खाद्य पदार्थको बारेमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्दछ । यसतर्फ सरकार तथा योजनाविद्को ध्यान जान जरुरी छ ।

बिषादी आयातमा रोक लगाउनेतर्फ सरकारको ध्यानाकर्षण होस् । अव केही दिनभित्रैमा नयाँ सरकार बन्दैछ । यही बेला उपभोक्ता दैनिक उपभोग्य वस्तुहरूमा भएको मूल्यबृद्धिको मारमा परेका छन् ।

यो बिषयमा सम्वन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?