© 2026
बुटवल। फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनले लगातार संसदीय राजनीतिमा सक्रिय नेताहरुको संसद यात्रामा विराम लगाएको छ।
लुम्बिनी प्रदेशका प्रभावशाली नेताका रुपमा चिनिएका मुख्य दलहरु कांग्रेस, एमाले र नेकपाका नेताहरु यसपटक संसद पुग्ने गरी जनताबाट अनुमोदित भएनन्।
कतिपयले भारी मतले पराजय बेहोरेका छन्। पूर्वप्रधानमन्त्रीदेखि जेनजी सम्मका उम्मेदवार रहेको लुम्बिनी प्रदेशबाट एमालेका दुई उपाध्यक्ष, महासचिव, पूर्वमन्त्रीहरुसमेतको यसपटक संसद पुग्ने बाटो बन्द भएको छ।
नेकपाका संयोजकले रुकुम पूर्वबाट चुनाब जित्दैगर्दा एमालेका उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र गोकर्ण विष्टको संसद यात्रामा विराम लाग्यो।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल रूपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता सुलभ खरेलसँग फराकिलो मतान्तरले पराजित भए। २८ वर्ष उमेरका खरेलले ५६ हजार ५५० मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी उपाध्यक्ष पौडेलले १२ हजार ८६१ मत मात्रै ल्याए।
पाँचौँ जित निकाल्ने योजनासहित चुनावमा होमिएका संसदीय राजनीतिका खेलाडी मानिने पौडेलको यो दोस्रो हार हो। २०५६ सालदेखि रुपन्देहीबाट चुनाव लडिरहेका पौडेल २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार विजयी भएका थिए।
एमालेका अर्का उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्ट गुल्मी– २ बाट रास्वपाकै गोविन्द पन्थीसँग पराजित भए। पन्थीले १६ हजार ९६७ मत ल्याएर विजयी हुँदा विष्टले १६ हजार ४०६ मत ल्याए। यसअघिका पाँचवटा निर्वाचनमध्ये चारवटामा जित हासिल गरेका विष्टको यो दोस्रो हार हो। उनले २०७० सालदेखि लगातार (२०७०, २०७४ र २०७९) मा ‘ह्याट्रिक’ जित निकालेका थिए।
लुम्बिनी प्रदेशमा पराजित हुने एमालेका पदाधिकारीमध्येका अर्का नेता हुन्, एमाले महासचिव शंकर पोखरेल। उनी दाङ– २ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो मतान्तरले पराजित गरे। आचार्यले ४३ हजार ५५९ मत ल्याएर विजयी हुँदा महासचिव पोखरेलले १५ हजार २८७ मत मात्रै ल्याए।
महासचिव पोखरेल दाङबाट २०५१, २०५६, २०७०, २०७४ (प्रदेशसभा सदस्य), २०७९ र २०८२ सालमा निर्वाचन लडेका थिए। तर, २०५१ सालको मध्यावधि निर्वाचन जितेका पोखरेलले त्यसपछिका संघतर्फका कुनै पनि चुनावमा जित हासिल गर्न सकेका छैनन्।
एमालेकै पूर्वउपमहासचिव प्रदीप ज्ञवाली पनि गुल्मी– १ मा पराजित भए। उनलाई रास्वपाका केन्द्रीय सदस्य सागर ढकालले १४ हजार ४६१ को फराकिलो मतान्तरले पराजित गरे। ढकालले २९ हजार ६४२ मत ल्याएर विजयी हुँदा ज्ञवालीले १५ हजार १८१ मत ल्याए भने यही क्षेत्रबाट पटकपटक चुनाव जितेका कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ५०५ मत मात्रै पाए। यसअघिका निर्वाचनमा आलोपालो जित्दै आएका ज्ञवाली र भण्डारी यसपटक ढकालसँग पराजित हुँदै संसदयात्रामा विराम लाग्यो।
पाल्पामा चारपटकसम्म जित हासिल गरेका पूराना नेता सोमप्रसाद पाण्डेय पनि यसपटक संसद प्रवेश गर्न पाउनेछैनन्।
२०५१ सालदेखि निरन्तर चुनावी मैदानमा रहेका पूर्वमन्त्री पाण्डेयलाई रास्वपाका डा. माधवबहादुर थापाले फराकिलो मतान्तरले पराजित गरे। डा. थापा २६ हजार ७३६ मत प्राप्त गरेर विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टीका पाण्डेय ५ हजार २८८ मत ल्याएर चौथो स्थानमा रहे।
कांग्रेसमा विशेष महाधिवेशन आयोजनाका लागि सक्रिय रुपमा खटिएका कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संसद यात्रामा विराम लागेको छ। यसअघि प्रदेश सभा निर्वाचनमा हार बेहोरेका पुनको यसपटकको यात्रामा बाँके क्षेत्र नम्बर ३मा रास्वपाका खगेन्द्र सुनारले विराम लगाइदिए।
सुनारले २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित हुँदा पुनले १३ हजार २१५ मत ल्याएर तेस्रो स्थानमा रहे। सो क्षेत्रमा एमालेका उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन्।
संसदीय राजनीतिका पूराना खेलाडी सर्वेन्द्रनाथ शुक्लाको संसद यात्रामा रास्वपाकै उम्मेदवार कन्हैया बनियाले विराम लगाए। रुपन्देही ४ मा शुक्ला चौथो स्थानमै रोकिए। रास्वपाका बनियाले २८ हजार ६६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का प्रमोदकुमार यादवले २० हजार २६२ मत पाएका छन्।
तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका आशुतोष मिश्रको १५ हजार ६१३ मत रहेको छ। त्यस्तै, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाको ३ हजार ४१० र जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवको २ हजार ७७ मत रहेको छ।
विभिन्न दल परिर्वतन गर्दै दशकौँदेखि चुनाव जितेर पटक–पटक सदन र सत्तामा पुगेका चतुर राजनीतिक खेलाडी हृदयेश त्रिपाठीले यसपटक लज्जास्पद हार बेहोरे। नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी नेपालबाट चुनावमा होमिएका त्रिपाठी र नेपाली कांग्रेसबाट उम्मेदवार रहेका विनोदकुमार चौधरीलाई रास्वपाका विक्रम खनालले फराकिलो मतान्तरले पराजित गरे।
खनालले ४५ हजार २४१ मत पाएर विजयी हुँदा चौधरीले ९ हजार ५०२ र त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरे। २०७९ सालमा जनता प्रगतिशील पार्टीबाट चुनाव लडेका त्रिपाठी कांग्रेसका चौधरीसँग पराजित भएका थिए।
चार पटक सांसद जितेका लुम्बिनीको संसदीय राजनीतिका अर्का चतुर खेलाडी कपिलवस्तुका बृजेशकुमार गुप्ताको पाँचौं परीक्षण असफल भएको छ। २६ वर्षदेखि संसदीय राजनीतिमा सक्रिय गुप्ता यसपटक तेश्रो भए।
कपिलवस्तु-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रमसिंह थापा विजयी भएका छन्।
२७ हजार ६३५ मत प्राप्त गर्दै थापा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन्। नेकपाका बृजेशकुमार गुप्ताले २० हजार ४८२ मत प्राप्त गरे।
अर्का एकजना संसदीय यात्राका अनुभवी भरतकुमार शाह पनि यसपटक सदन प्रवेश गर्न पाएनन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका छन्।
खानले नेकपा एमाले नेता खिमलाल भट्टराई, नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेपाल कम्युनिष्ट पार्टीका मुहम्मद वकील मुसलमान लगायतलाई पराजित गरेका हुन्।
भट्टराईले १३ हजार १००, शाहले १२ हजार ६२४, मुसलमानले ६ हजार १७६ मत प्राप्त गरेका छन्।
चुनाबअघि दल बदलेका विरेन्द्र कनोडिया पनि सदन पुग्न पाएनन्। उनलाई तेश्रो बनाउँदै नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मत सहित विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरिया १८ हजार ८९० मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडिया १४ हजार ७६३ मतसहित तेस्रो स्थानमा रहेका छन्।
अभिषेक प्रताप शाहले प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
२६ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा रास्वपाले सबैभन्दा धेरै २१ वटा क्षेत्रमा सानदार जित हासिल गरेको छ। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समान २–२ क्षेत्रमा जितेका छन् भने नेकपा (एमाले)ले एउटा मात्रै क्षेत्रमा खुम्चिएको छ।