Butwal Today

रुपन्देही २ का उम्मेदवार पौडेल र शर्माले बुझाए निर्वाचन खर्च विवरण

२६ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

बुटवल। कांग्रेस र एमालेका उम्मेदवारले रुपन्देही २ मा प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनको खर्च विवरण बुझाएका छन्। एमाले उम्मेदवारले २८ लाख रुपैयाँ र कांग्रेस उम्मेदवारले २४ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।

पौडेलले बुझाएको खर्च विवरणमा सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ९७ हजार २७५ रुपैयाँ खर्च भएको उल्लेख छ। छापा एवं विद्युतीय प्रचारप्रसारमा ८ लाख ३४ हजार, कार्यालय सञ्चालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ हजार ३२५, छपाइमा १ लाख ९० हजार खर्च भएको विवरणमा उल्लेख छ।

एसएमएसमा १ लाख ७५ हजार, मतदाता नामावली खरिदमा ९८ हजार, गोष्ठी तथा कार्यकर्ता परिचालनमा ५५ हजार, अन्तर्क्रियामा ४५ हजार र प्रतिनिधि परिचालनमा २६ हजार ५ सय गरी २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

यस्तै, नेपाली कांग्रेसबाट रुपन्देही २ का उम्मेदवार चुन्न प्रसाद शर्माले फागुन २१ गते भएको निर्वाचनमा २४ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

शर्माले बुझाएको विवरणअनुसार ९ लाख २१ हजार ७४० रुपैयाँ मसलन्द छपाइ प्रिन्टिङतर्फ, १ लाख ७९ हजार ८९४ इन्धन सवारी साधन, खाना नास्ता चियापानमा ५ लाख ४५ हजार ६८९, बिजुली साउन्ड सिस्टममा २ लाख ७४ हजार ७२० रुपैयाँ उल्लेख छ।

यस्तै अफिस प्रचारप्रसार कार्यालय भाडा २ लाख ४० हजार, सवारी साधन भाडा १ लाख ५० हजार र मन्च व्यवस्थापन कुर्सी टेन्टमा १ लाख ३१ हजार ७८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?