Butwal Today

रुपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा, ७३६ मतदान केन्द्रमा जनशक्ति परिचालन

२० फाल्गुन २०८२, बुधबार
अ+
अ-

भैरहवा ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा मतदान केन्द्र व्यवस्थापन, कर्मचारी परिचालन तथा सुरक्षा प्रबन्ध सुदृढ गरिएको जानकारी दिए ।

उनका अनुसार जिल्लाभर रहेका ७३६ मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारीहरु खटिइसकेका छन् । निर्वाचन सम्पन्न गराउन कुल ४ हजार ४०४ जना कर्मचारी कार्यक्षेत्रमा परिचालित छन् भने २ हजार २०३ जना स्वयंसेवकहरू पनि सहजीकरणका लागि खटाइएको छ ।

‘थ्री लेयर’ सुरक्षा व्यवस्था

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘थ्री लेयर’ (तीन तह) सुरक्षा घेरा कायम गरिएको मुख्य निर्वाचन अधिकृत बस्नेतले बताए ।
आन्तरिक घेराअन्तर्गत मतदान केन्द्रभित्र नेपाल प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र प्रहरी बल नेपाल परिचालन गरिनेछ । बाह्य घेरामा मतदान केन्द्रको आसपास नेपाली सेना तैनाथ रहने व्यवस्था मिलाइएको छ । साथै, हरेक पाँच मिनेटको अन्तरालमा सेनाको गस्ती टोली परिचालन हुने र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना मेजरको कमान्डमा सेना परिचालित गरिएको उनले जानकारी दिए । निर्वाचन सुरक्षालाई मध्यनजर गरि भारतसित जोडिएका रुपन्देही जिल्लाका मूख्य र सहायक नाकाहरु सोमबार राती देखि नै शिल गरिएको छ । गोरेटो बाटोहरुमा समेत बाक्लो सुरक्षाकर्मी खटाईएको छ ।

मतदान र मतगणना प्रक्रिया

निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । ५ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

मतदान सम्पन्न भएपछि मतपेटिकाहरु संकलन गरिने र सर्वदलीय बैठकको निर्णयअनुसार सोही राति वा भोलिपल्ट (फागुन २२ गते) बिहान ८–९ बजेदेखि मतगणना सुरु बस्नेतले बताए । प्रत्यक्षतर्फको मतपरिणाम मतगणना प्रारम्भ भएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । क्षेत्र नम्बर ३ को हकमा ३ वटा कोठाबाट मतगणना गरिने छ । सर्वदलिय बैठकको निर्णय अनुसार प्रत्यक्ष र समानुपातिक समानान्तर रुपमा गर्ने कि अलग अलग गर्ने भन्ने निर्णयको आधारमा हुनेछ ।

मतगणना स्थलमा मतपेटिकाहरु राख्ने कोठामा सिसिटिभी जडान गरिएको छ । २४ सै घण्टा बिद्युत अवरोध नहुने व्यवस्था पनि गरिएको छ । सञ्चारकर्मीहरुका लागि छुट्टै मिडिया कक्षको समेत ब्यवस्थापन गरिएको मूख्य निर्वाचन अधिकृत बस्नेतको भनाई छ ।

मुख्य निर्वाचन अधिकृत बस्नेतले जिल्लावासी मतदातालाई निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् । उनले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सम्पूर्ण प्रशासनिक तथा सुरक्षा तयारी पूरा भइसकेको उल्लेख गर्दै इच्छाएको उम्मेदवारलाई स्वतन्त्र रुपमा मतदान गर्न आग्रह गरे ।
यसपटक दुईवटा मात्र मतपत्र प्रयोग हुने भएकाले मतदान तथा मतगणना प्रक्रिया विगतको तुलनामा छिटो र सहज हुने बस्नेतको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?