Butwal Today

‘चुनाब आउँछन्, जान्छन्, हामीलाई लालपूर्जा चाहियो’

१८ फाल्गुन २०८२, सोमबार
अ+
अ-

पाल्पा । माथागढी गाउँपालिका कसेनी सराई बजारका बासिन्दाले लालपूर्जा पाउने भनेर आशा देखाउन थालेको ३० वर्ष भयो। निर्वाचनमा आउने उम्मेदवारले हरेक निर्वाचनमा लालपूर्जा दिलाउने आश्वासन दिन्छन्। हरेक पटक स्थानीयले आश्वासन पाउँछन्, तर लालपूर्जा पाउँदैनन्।

स्थानीय दिब्यज्योति मा.वि सञ्चालनका लागि कसेनीको सराई बजारमा सरकारी जमिनलाई घडेरीका रुपमा वितरण गरिएको थियो। यहाँका बासिन्दासँग पूर्जा छैन।

करीब तीन सय घर परिवार रहेको यहाँका बासिन्दाले पूरानै आशा देखाउँदा आक्रोश व्यक्त गर्न थालेका छन्। स्थानीय टेकबहादुर दर्लामी दलहरुले हरेक पटक आश्वासन दिएपनि पूरा नगरेको बताए।

२०४६ सालको राजनैतिक परिवर्तनपछि गाउँमा मा.वि तहको विद्यालय सञ्चालनका लागि एक हजार पाच सय रुपैयामा तिन आना जमिन तत्कालिन कसेनी गाउ बिकास समितको सिफारिसमा बिक्री गरेको स्थानीय समाजसेवी तिलक घिमिरे बताउँछन् ।

विद्यालयका लागि भनेर घडेरी बिक्री गर्नु पूर्व स्थानियको गौचरन थियो । पछिल्लो समयमा बस्तीको बिकास संगै सबै आवासिय क्षेत्र भएको र सबैलाई लालपुर्जाको आवश्यकता भएको स्थानीय शंकर कुमाल बताउछन्।

२०४८ साल देखिको निर्वाचनमा सराईबासीलाई लालपुर्जाको आशा मात्र देखाइएको थियो । स्थानिय सरकार, प्रदेश तथा संघिय तहका प्रतिनिधिले पहल नगरिदिदा यसको समस्या जस्ताको तस्तै रहेको स्थानिय निर्मल प्रसाद काफ्‌ले बताउछन्।

‘यहाँको जस्तै समस्या भएको रामपुर नगरमा स्थानिय सरकारको पहलमा लालपुर्जा वितरण भएको दुई वर्ष पुरा भयो। तर यही क्षेत्रमा प्रदेशका मन्त्री भएर दिनहु झण्डा हल्लाएर गाडीमा गुडे पनि हाम्रो समस्यामा मतलब नै गरेनन्‌’– उनले भने।

‘घरको लालपुर्जा नहुदा विद्युत मिटर जडान गर्न झन्झटिलो प्रक्रिया छ, कहिले सम्म लालपुर्जाको राजनिती गर्ने हो ? स्थानिय खुम बहादुर दर्लामी प्रश्न गर्छन्।

भूमि आयोगका पुर्व अध्यक्ष मोहन लाल गैरे स्थानीय सरकारले पहल नगर्दा पछाडि परेको बताए। कसेनीको सराई बजारमा पाँच सय वटा घर घडेरी पुर्जा विहीन भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?