© 2026
काठमाडौँ ।
नेपाली काँग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।
महामन्त्री पौडेलले आज काठमाडौँ–५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन । उनले आफू यसअघि काठमाडौँ क्षेत्र नं ५ बाट सांसदका रूपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रूपमा इमानदारीपूर्वक प्रयास गरेको बताए ।
चक्रपथको दोस्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुसी टोखा सडक, विष्णुमती कोरिडोर, साङ्लेखोला कोरिडोरलगायत रणनीतिक काम अघि बढेको उनले बताए ।
महामन्त्री पौडेलले क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी, तामाङ तथा मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गरेको बताए।
उनले सबैलाई स्वास्थ्य बिमामा आबद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरा वृद्धि गर्न आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा पहल गर्ने बताए ।
महामन्त्री पौडेलले क्षेत्र नं ५ लाई मेडिकल हबका रूपमा विकास गर्दै क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालहरूको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता जनाए ।
उनले आफ्नो प्रतिज्ञा पत्रमार्फत सङ्घीय संसद्मार्फत व्यवसायमैत्री कानुन निर्माणका लागि विशेष पहल गर्ने भन्दै झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रियाको अन्त्य गर्न नीति बनाउन सहजीकरण गर्ने उल्लेख गरे ।
“युवा जनशक्तिलाई विश्व प्रविधि बजारसँग प्रतिस्पर्धा गर्न एआई, ‘डिजिटल मार्केटिङ’जस्ता विषयमा उच्चस्तरीय शैक्षिक तालिमको प्रबन्ध गर्दै क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’का रूपमा आवश्यक नीति र पूर्वाधार तयार गरिनेछ,” उनले भने ।
प्रतिज्ञा पत्रमा भूमिविहीनहरूको पहिचान गरी लालपुर्जा वितरणको कार्यलाई गति दिनेलगायत विषय समेटिएको छ ।
उनले काठमाडौँ–५ अन्तर्गत पर्ने हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, टुँडाल, धुम्बाराही, अजिमालगायत ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै भ्याली सिटी टुरमा समावेश गर्ने बताए ।
टोखाको बिस्का नखः, पाँहाचह्रे तथा हाँडीगाउँको चोखःते नारायणजात्रा जस्ता सांस्कृतिक परम्पराको ‘ब्रान्डिङ’ गर्दै पर्यटकीय लाभ लिन पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, टुकुचा, धोबिखोला, सामाखुसी र साङ्ला खोलाजस्ता ढल समस्याको समाधानका लागि उचित व्यवस्थापन गर्दै सहरी क्षेत्रमा ढुबान समस्या समाधानका लागि ‘स्ट्रोमा वाटर ड्रेनेज’को व्यवस्था गर्ने प्रतिज्ञा पत्रमा उल्लेख छ ।
महामन्त्री पौडेलले टोखा छहरे सुरुङमार्ग र रसुवा केरुङ राजमार्गलाई व्यापारिक ‘लाइफलाइन’का रूपमा विकासका लागि पहल गर्ने बताए । यस्तै, चक्रपथ विस्तार, नारायणगोपाल चोकमा अन्डरपास तथा फ्लाइओभर, सामाखुसी विष्णुमती करिडोरमा आफूले थालेको सडक विकासको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ ।
उनले विश्वविद्यालयहरूमार्फत अनुसन्धान र विकासलाई प्रोत्साहन गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीतिनिर्माणको नेतृत्व लिने र नेपालकै ‘लार्ज ल्याङ्ग्वेज मोडल विकासका लागि पूर्वाधार बनाउन आफ्नो पहल रहने बताए ।
धनेश्वर खेलमैदानलाई राष्ट्रिय स्तरको मैदानका रूपमा स्तरोन्नति गर्ने र भूत्हया दह क्षेत्रको ११४ रोपनी सरकारी जग्गामा पिकनिक स्पट र ध्यान साधना केन्द्रका रूपमा विकास गर्ने उनको प्रतिज्ञा पत्रमा उल्लेख छ । रासस