Butwal Today

संविधान पुनर्लेखनको एजेन्डा दोहोर्‍याउँदै यादव, बालेनप्रति कटाक्ष

११ फाल्गुन २०८२, सोमबार
अ+
अ-

भैरहवा ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखनको बहसलाई पुनः अगाडि सार्दै वर्तमान राजनीतिक संरचनाबाट देशले निकास नपाउने बताएका छन् । सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानमा व्यापक संशोधन वा पुनर्लेखन नगरी राजनीतिक स्थायित्व सम्भव नरहेको दाबी गरे ।

उनका अनुसार अहिलेको संविधानले मधेसी, जनजाति, दलित तथा उत्पीडित समुदायका अपेक्षा पूरा गर्न सकेको छैन । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि पहिचानका आधारमा प्रदेश सीमांकन हुनुपर्नेमा उनले जोड दिए । “संघीयता केवल प्रशासनिक पुनर्संरचना होइन, यो पहिचानसहितको स्वायत्तता हो,” यादवको भनाइ थियो ।

यादवले वर्तमान संसदीय प्रणाली अस्थिरताको कारण बनेको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ जानुपर्ने प्रस्ताव राखे । उनका अनुसार यसले राजनीतिक खेलभन्दा नीति र स्थायित्वलाई प्राथमिकता दिन मद्दत गर्नेछ ।

भैरहवामै आयोजित कार्यक्रम भएकाले उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको विषय उठाए । अन्तर्राष्ट्रिय उडान विस्तारका लागि सरकारले कूटनीतिक पहल र प्राविधिक व्यवस्थापनमा सक्रियता देखाउनुपर्ने उनको भनाइ थियो ।

यसैबीच, यादवले जसपा सुरुदेखि नै मधेसको मुद्दा उठाउँदै आएको दाबी गरे । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह प्रति कटाक्ष गर्दै मधेसको मुद्दा नबुझेको आरोप लगाए । “मधेसका जनताले कसले मुद्दा बुझेको छ र कसले छैन, राम्रोसँग बुझेका छन्,” उनले भने ।

यादवको अभिव्यक्तिलाई आगामी राजनीतिक समीकरण र मधेस केन्द्रित एजेन्डा पुनः सशक्त बनाउने प्रयासका रूपमा स्थानीय राजनीतिक वृत्तमा चर्चा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?