© 2026
बुटवल ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा रहेको हाटबजारलाई व्यवस्थित र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै हाटबजारको समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।
शनिबार घरदैलो अभियानको क्रममा बुटवल–७ स्थित हाटबजार लाइन पुगेका पाण्डेले व्यवसायीहरूले भोग्दै आएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न आफू स्थानीयदेखि केन्द्रीय तहसम्म पहल गर्ने प्रतिबद्धता जनाएका हुन्। भेटघाटका क्रममा व्यवसायीहरूले व्यापारमा मन्दी लागेको, अस्वस्थ प्रतिस्पर्धा बढेको र बुटवल क्षेत्रमा व्यवसाय सञ्चालनको वातावरण बिग्रँदै गएको गुनासो सुनाएका थिए। साथै, हाटबजार व्यवस्थित गर्नुपर्ने, बजार क्षेत्रमा फोहोर बढेको र खानेपानीको समस्या रहेको जस्ता विषय पनि उठाएका थिए।
एक व्यवसायीले भने, “सरसफाइ, खानेपानीको अभाव र व्यापारमा मन्दी अहिले हाटबजारको मुख्य समस्या हो। धेरै व्यक्तिहरू विदेशमा गएकाले ग्राहक नै घटेका छन्।” गुनासो सुनेपछि पाण्डेले यस्ता समस्या गम्भीर समस्या समाधानको पहल गर्ने बताए। उनले भने, “तपाईंहरूले उठाउनु भएको समस्याको समाधानका लागि हामी प्राथमिकताका साथ पहल गर्नेछौँ।ू
पाण्डेले साना–ठूला सबै व्यवसायमा संकट देखिएको उल्लेख गर्दै यसको असर केवल व्यवसायीमा नभई समग्र देशको अर्थतन्त्रमा पनि परेको बताए। “रोजगारी घट्ने, लगानीमा कमी आउने र बजारमा चलायमानता घट्ने जस्ता समस्या गम्भीर बन्दै गएका छन्। यस अवस्थालाई सुधार्न उद्योग–व्यवसायलाई प्रोत्साहन र उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा विशेष ध्यान दिन आवश्यक छ।”
उक्त भेटघाटका क्रममा व्यवसायीहरूले हाटबजार सञ्चालन गर्दा वर्षा वा गर्मी दुवै समयमा कठिनाइ भोग्नु परेको गुनासो राखे। व्यवसायीहरूले सेमि–पर्मानेन्ट संरचना निर्माण भएमा सहज हुने उनको भनाइ छ। उक्त क्षेत्रमा करिव ७५० व्यवसायीहरूले हाट सञ्चालन गरिरहेका छन्।