© 2026
काठमान्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटिएको आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ । ‘थिति बसाल्ने सङ्कल्प’ नारासहित बिहीबार सुर्खेतमा सार्वजनिक गरिएको बाचापत्रमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन र चुस्त सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
बाचापत्रमार्फत रास्वपाले सार्वजनिक सेवा प्राप्त गर्न जनताले लाइन बस्नुपर्ने बाध्यता अन्त्य गरी ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएको छ । सरकारी कार्यालयहरूमा बिचौलियाको अन्त्य गर्ने, सेवा प्रवाहलाई डिजिटल माध्यमबाट एकीकृत बनाउने तथा राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी एकीकृत सेवाको आधारका रूपमा प्रयोग गर्ने योजना अघि सारिएको छ ।
भ्रष्टाचार नियन्त्रणतर्फ वि।सं। २०४६ यतादेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र रोकिएका भ्रष्टाचारसम्बन्धी फाइलहरू पुनः खोल्ने कठोर नीति लिइने उल्लेख गरिएको छ । साथै, पार्टीले कुनै पनि प्रकारका भातृ सङ्गठन नखोल्ने र शिक्षा, स्वास्थ्य तथा सार्वजनिक संस्थानहरूलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेको छ ।
अर्थतन्त्रतर्फ डिजिटल अर्थतन्त्रको विस्तार, स्टार्टअप प्रवर्द्धन तथा ‘मेक इन नेपाल’ अभियानलाई प्राथमिकता दिँदै उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न ‘आई–भोटिङ’ प्रणाली लागू गर्ने तथा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अवधारणाअनुसार गैर–आवासीय नेपालीलाई अधिकार सम्पन्न बनाउने विषयलाई पनि बाचापत्रमा प्राथमिकताका साथ समेटिएको छ ।
वातावरण संरक्षण, पूर्वाधार विकास र सामाजिक न्यायलाई समेत समेट्दै रास्वपाले समुन्नत र सुशासित नेपालको दीर्घकालीन खाका प्रस्तुत गरेको जनाएको छ ।