© 2026
बुटवल। नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका वडानम्बर–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेशनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।
उच्च भोल्टेजका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारण लाइनका टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरि नजान तथा घरेलु जनावरलाई त्यहाँ नछोड्न आग्रह गरेको छ ।
खतरा संकेत गरिएका विद्युत संरचनाबाट टाढा रहन र बालबालिकालाई समेत सचेत गराउन अनुरोध गरिएको नेपाल विद्युत प्राधिकरण बुर्तिबाङ–पोदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ के.भी. प्रसारण लाइन आयोजनाले जनाएको छ ।
परीक्षणका क्रममा कुनै स्थानमा झिल्का (स्पार्क) देखिएमा वा अन्य जोखिम देखिएमा नजिकको प्रहरी चौकी वा नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ । यो आयोजना ‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको हो ।
प्रसारण लाइनको रुट पर्ने स्थानहरु गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं. ३, ४, र ५ ईस्मा गाउँपालिका वडा नम्बर–२ र मुसिकोट नगरपालिका वडा नम्बर– १, २ र ३ बडागाउँ, पौदीअमराई र नेटा रहेका छन् त्यस्तै बागलुङ जिल्ला वडिगाड गाउँपालिका वडानम्बर–२, ५, ६ र ७ दगातुन्डाँडा, ग्वालीचौर र भिमगीठे ढोरपाटन नगरपालिका वडानम्बर-२ बुर्तिबाङ रहेका छन् ।
आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको छ । कपिलवस्तुको मोतिपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ । करिब २ वर्षदेखि १३२ के.भी. मार्फत अर्घाखाँची र गुल्मी को उनाएचौर सवस्टेशनबाट विद्युत वितरण भइरहेको छ ।
उनाएचौरबाट पौदीअमराई र बुर्तिबाङमा रहेका सवस्टेशनमा चार्ज गर्ने तथा परिक्षणको काम सुरु भएको नेपाल विद्युत प्राधिकरण बुर्तिबाङ–पोदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ के.भी. प्रसारण लाइन आयोजनाले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले अर्घाखाँची गुल्मी र बागलुङ जिल्लामा विद्युतलाई भरपर्दो तरिकाले विस्तार गर्न विभिन्न ठाउँमा सव स्टेशन निर्माणको काम गरेको हो । सब-स्टेशनले विद्युतिय ओभर लोडलाई कम गर्न मद्दत गर्ने काम गर्नेछ ।
गुल्मीमा बुटवलमा रहेको सव स्टेशनबाट लामो दुरीमा विद्युत आउँदा विभिन्न समस्या हुने कामको अत्य उनाएचौरको सव स्टेशनले गरेको छ । छिन छिनमा बत्तीजाने समस्याबाट आजित भएका गुल्मेलीहरुमा ठाउँ–ठाउँमा विद्युत सव स्टेशनको काम पुरा भएसँगै समस्याको हल हुने भएको छ ।
यस आयोजनाको सम्पूर्ण कामको करिब चार अर्ब बढी लागतमा १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको काम हुँदै आएको आयोजनाले जनाएको छ ।