© 2026
बुटवल, २ फागुन ।
बुटवल भुड्कीचोकको सानो सटरभित्र राति अबेरसम्म बत्ती बल्थ्यो । काउन्टर सुनसान हुन्थ्यो, तर एउटा युवाको मन भने प्रश्नले भरिएको हुन्थ्यो– “के विदेशको जागिर छोड्नु गल्ती भयो ?”, “के यो निर्णयले परिवारलाई जोखिममा पा-यो ?”
त्यो सटर केवल क्याफे थिएन, मेहनती युवाको सपना र डरबिचको संगमस्थल थियो । र त्यसको केन्द्रमा थिए ३४ वर्षीय युवा विकास खत्री ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ८ मा जन्मिएका खत्रीले बाल्यकाल पनि भूमिकास्थानमै बिताए ।
व्यवस्थापनमा स्नातक गरेका उनले सङ्घर्षलाई सानैदेखि नजिकबाट बुझे । मध्यम वर्गीय परिवार, एक्लो छोरा, अनि परिवारको सम्पूर्ण जिम्मेवारी–यी सबै उनको काँधमा थियो ।
सन् २०११ देखि २०१७ सम्म उनी कतारको एक बैङ्कमा कार्यरत थिए । नियमित तलब, व्यवस्थित जीवन, सुरक्षित भविष्य सबै थियो । घरमा श्रीमती, दुई सन्तान, बुबा–आमा । बाहिरबाट हेर्दा जीवन पूर्ण देखिन्थ्यो । तर मनभित्र एउटा अधुरो चाहना पलाएको थियो–“आफैँ केही गर्ने ।”
विदेश बसाइका क्रममा उनले सेवा, व्यवस्थापन र गुणस्तरको महत्त्व नजिकबाट देखे । त्यहीँ उनले निर्णय गरे– नेपाल फर्केर व्यवसाय गर्ने । २६ वर्षको उमेरमा स्वदेश फर्किँदा ठुलो पुँजी थिएन, तर स्पष्ट सोच र अठोट थियो । त्यति बेला उनलाई धेरैले प्रश्न गरे–“राम्रै जागिर छोडेर किन फर्कियौ ?” उनले जवाफ शब्दमा होइन, काममा दिन चाहे ।
बुटवलको हस्पिटल लाइन, भुड्कीचोकमा उनले ‘काभ्या रेष्टुरेन्ट’ सञ्चालनमा ल्याए । सुरुमा उत्साह र ऊर्जा थियो, तर बजारले उनलाई साथ दिएन । लगानी बढ्दै गयो, आम्दानी घट्दै गयो । सटर भाडा, कर्मचारी तलब, दैनिक खर्च सबै मिलाउन मुस्किल पर्न थाल्यो । “कहिलेकाहीँ रातभर निन्द्रा लाग्दैनथ्यो,” उनी बिगत सम्झिन्छन् । परिवार चिन्तित भयो । परिवारबाट सुझाव आयो– “अरू व्यवसाय गर, जोखिम नलिऊ ।” तर उनले हार मान्न सकेनन् । “एउटा काम सुरु गरेपछि पूरा गर्ने बानी छ,” उनी भन्छन्, “छोड्ने विकल्प कहिल्यै सोचिनँ ।”
दोस्रो प्रयास: ‘केरेभिङ्स’को जन्म
पहिलो अनुभवबाट सिक्दै उनले कालिकानगरको होराइजन चोकमा ‘केरेभिङ्स’ नामक क्याफे सुरु गरे । सानो सटर, सीमित स्रोत, तर नयाँ अवधारणा । “पहिले राम्रो गरौं, अनि मात्र सबैलाई भनौँला,” उनले सोचे ।
तर सुरुवाती चार वर्ष जीवनकै सबैभन्दा कठिन रह्यो । बजार प्रतिस्पर्धा, ग्राहकको अपेक्षा, कर्मचारी व्यवस्थापन, दैनिक खर्च सबै चुनौती बने । तनाव र आर्थिक दबाबले शरीर कमजोर भयो । “शरीर कमजोर भयो, तर मन कहिल्यै कमजोर भएन,” उनी भन्छन् ।
कति जना ग्राहक आए भन्दा पनि कति जना ग्राहक फर्केर आए भन्ने महत्त्वपूर्ण रहेको उनी बताउँछन् । आज ‘केरेभिङ्स’ बुटवलका चर्चित क्याफेमध्ये एक बनेको छ । यहाँ ११ जना कर्मचारी कार्यरत छन् । शान्त वातावरण, स्वस्थ र गुणस्तरीय परिकार यसको पहिचान बनेको छ । सामाजिक सञ्जालको युगमा भाइरल संस्कृतिप्रति उनी सजग छन् । “भाइरल भएर अपेक्षा बढाउनु भन्दा विश्वास जित्नु ठुलो कुरा हो,” उनी भन्छन् ।
दैनिक सामग्री जाँच, सरसफाइ, गुणस्तर नियन्त्रण यी नियमित प्रक्रिया हुन् । नगरपालिकाको अनुगमनमा पटक–पटक स्टार रेटिङ प्राप्त गर्नु उनको लागि गर्वको विषय बनेको छ । पहिले उनी आफूलाई धेरै सामाजिक मान्दैनथे । तर व्यवसायले उनलाई समाजसँग जोड्यो । ग्राहक, कर्मचारी र समुदायसँगको अन्तरक्रियाले उनको व्यक्तित्व परिवर्तन ग-यो । आज उनी रक्तदानजस्ता सामाजिक अभियानमा सक्रिय छन् । “व्यवसायले दिएको पहिचान समाजलाई फर्काउनुपर्छ,” उनी भन्छन् ।
उनका अनुसार नेपालमा हस्पिटालिटी क्षेत्र अत्यन्त चुनौतीपूर्ण छ । दक्ष जनशक्ति अभाव, अस्वस्थ प्रतिस्पर्धा, बजारको अस्थिरता । “बाहिरबाट सजिलो देखिन्छ, भित्र धेरै सङ्घर्ष छ,” उनी भन्छन् । विदेशबाट फर्किएका युवालाई लगानी, तालिम, कर छुट र मार्गदर्शन आवश्यक रहेको उनको धारणा छ । “यदि राज्यले साथ दियो भने धेरै युवाले देशमै सम्भावना देख्नेछन्”–उनी भन्छन् ।
उनको मेहनत देखेर आज परिवार पनि खुसी छ । जसले पहिले शंका गर्थे, अहिले गर्व गर्न थालेका छन् । “पहिले घाटा हुन्छ भन्थे, अहिले राम्रो गर्यौ भन्नुहुन्छ,” उनी मुस्कुराउँदै भन्छन् । सञ्चालक विकास खत्रीकी श्रीमती कल्पना जीसीले सुरुवाती दिनहरू निकै नै तनावपूर्ण भएको स्मरण गरिन् । “सुरुमा हामीलाई निकै नै तनाव भयो”–उनले भनिन्, “यो व्यवसाय छोडेर अरू काममा लाग्न भन्यौँ, तर उहाँले कहिल्यै हार मान्नुभएन । उहाँको मेहेनत देखेर हामीले साथ दियौं । आज व्यवसाय राम्रोसँग चलिरहेको देख्दा श्रीमानमाथि गर्व लाग्छ ।”
उनका बुबा नारायण खत्रीले पनि छोराको अठोट र धैर्य नै सफलताको आधार भएको बताए । “विदेशको जागिर छोडेर फर्किंदा हामीलाई निकै चिन्ता लागेको थियो । तर उसले गरेको निर्णय सही रहेछ । सङ्घर्ष गरेर अगाडि बढेको देख्दा छोराप्रति म खुसी छु,” उनले भने ।
क्याफेमा नियमित आउने ग्राहकमध्ये तिलोत्तमा–३ शङ्करनगरकी बासिन्दा सुस्मिता राना मगरले क्याफेको वातावरण र सेवाको प्रशंसा गरिन् । “बुटवलमा धेरै क्याफे छन्, तर यहाँको शान्त वातावरण, स्टाफको व्यवहार र खानाको गुणस्तरले मलाई लोभ्याएको छ । एक पटक आएपछि फेरि आउन मन लाग्छ । युवाहरूका लागि राम्रो स्पेस बनेको हुँदा मैले आफ्ना साथीहरूलाई पनि यहीँ ल्याउने गर्छु,” उनले भनिन् ।
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले युवा उद्यमशीलता प्रवर्द्धनमा यस्ता प्रयास सकारात्मक रहेको बताए । “विदेश जाने सोच बढिरहेको समयमा स्वदेशमै फर्केर व्यवसाय सुरु गर्नु साहसिक निर्णय हो । यस्ता युवाहरूले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् ।
निजी क्षेत्र र सरोकारवाला निकायले पनि यस्ता उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ,” उनले भने । उनको सङ्घर्ष केवल एउटा क्याफेको सफलता मात्र होइन, यो आत्मविश्वासको विजय समेत रहेको विकासका छिमेकीहरू बताउँछन् । सुरक्षित विदेश जीवन त्यागेर जोखिम उठाउने साहसलाई परिवारले पनि पूर्ण रूपमा साथ दिएका छन् ।
अब उनको लक्ष्य ‘केरेभिङ्स’लाई युवामैत्री, स्वस्थ र विश्वसनीय ब्रान्डका रूपमा विस्तार गर्नु रहेको छ । विकास भन्छन्– “सपना देख्नुस् । जोखिम लिनुस् । हार नमान्नुस् । सफलता ढिलो आउला, तर अवश्य आउँछ ।”
भुडकीचोकको सानो सटरबाट सुरु भएको त्यो सपना आज बुटवलको सफल व्यवसायमा परिणत भएको छ ।
आँसु, असफलता र आलोचनामाथि अठोटको जित भएको छ । विकास खत्रीको सङ्घर्षमय यात्राले सङ्घर्ष स्विकार्न सके सफलता टाढा नरहेको सन्देश दिएको छ ।