Butwal Today

सुशासनमा अव्बल मालिका र धुर्कोट : कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

गुल्मी ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको ७५३ स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा गुल्मीका दुई पालिका उत्कृष्ट सूचीमा परेका छन् । आयोगका अनुसार ८० अंकभन्दा बढी प्राप्त गर्ने चार स्थानीय तहमध्ये तीन वटा नेकपा नेतृत्वमा रहेका पालिका रहेका छन् ।

प्रतिवेदनअनुसार मालिका गाउँपालिका, गुल्मी ले ८१.९८ अंक प्राप्त गर्दै देशभर तेस्रो स्थान हासिल गरेको छ भने धुर्कोट गाउँपालिका, गुल्मी ले ८०.५२ अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा स्थान बनाएको छ ।

“पारदर्शिता र वित्तीय अनुशासन हाम्रो प्राथमिकता” : मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले

मालिका गाउँपालिकाका अर्यालले यो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको बताए । उनले भने, “हामीले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रयास गरेका छौं । बजेट कार्यान्वयनमा कडाइ, वित्तीय अनुशासन र जनप्रतिनिधि–कर्मचारीबीच समन्वयका कारण राम्रो नतिजा आएको हो । यो उपलब्धिले हामीलाई अझ जिम्मेवार बनाएको छ । ”उनका अनुसार आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा गुणस्तरीय कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।

“सुशासन हाम्रो मूल मन्त्र” : अध्यक्ष भुपाल पोखरेल धर्कोट गाउँपालिका

धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलले आयोगको मूल्यांकनले गाउँपालिकाको कामप्रतिको विश्वास बढाएको प्रतिक्रिया दिए । उनले भने, “हामीले जनताको कामलाई पहिलो प्राथमिकतामा राखेका छौं । योजना छनोटदेखि कार्यान्वयनसम्म पारदर्शिता कायम गरिएको छ । सुशासन, उत्तरदायित्व र नतिजामुखी कामकै कारण आज हामी उत्कृष्ट सूचीमा परेका हौं ।” उनले आगामी वर्षहरूमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र सामाजिक सुरक्षाका कार्यक्रमलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ । आयोगको पछिल्लो मूल्यांकनले नेकपा नेतृत्वमा रहेका यी पालिकाहरू सेवा प्रवाह, वित्तीय अनुशासन र समग्र सुशासनका क्षेत्रमा उदाहरणीय देखिएको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?