© 2026
तम्घास ।
गुल्मी र स्याङ्जा जोड्ने मोटरे बल पुल जीर्ण बन्दै गएको एक दशक बढी हुँदा पनि जीर्ण पुलबाटै जोखिम मोलेरै यात्रा गर्न यहाँका सवारी चालक र यात्रु बाध्य बनेका छन् । जहाँ नयाँ पुल निर्माणको चर्चा भए पनि चर्चामा मात्रै सीमित भएको छ ।
गण्डकी प्रदेशको स्याङ्जाको काली गण्डकी गाउँपालिका ७ मिर्मी र लुम्बिनी प्रदेशको गुल्मीको काली गण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौर जोड्ने रेप्कामा रहेको मोटरे बल पुल २०५२ सालमा निर्माण गरिएको थियो ।
काली गण्डकी जलविद्युत परियोजना ए निर्माणको क्रममा हर्मिचौर र मिर्मीलाई जोड्ने गरी काली गण्डकी नदीको रेप्कामा इटालीयन सरकारले निर्माण गरिदिएको पुल एक दशकदेखि जीर्ण बन्दै गएको छ ।
काली गण्डकी नदीले पुलको पिलरहरूमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र पोखरादेखि गुल्मीको पुर्तिघाट र बाग्लुङसम्म जाने सवारी साधनहरूले सो पुलको प्रयोग गर्दै आएका छन् । पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवालाले नयाँ पुल बनाउन पहल कदमी नलिएको सवारी धनीहरू र स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।
सवारी चालक रामु पाण्डेले जुनसुकै समयमा पनि पुल भत्किन सक्ने भन्र्दै हजारौ जनताको जीउ धनको बारेमा कसैले पनि चासो नदेखाएको गुनासो गरे ।
सो पुल हुँदै जोखिम मोलेरै यात्रा गर्नुको विकल्प नरहेकाले मुटु दरिलो बनाएर मात्रै यात्रा गर्ने गरेको सवारी चालकहरूले बताउँदै आएका छन् । बर्षौ देखि जीर्ण रूपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसक्नु दुःखद भएको यहाँका स्थानीयहरूले जनाएका छन् ।
अर्का सवारी चालक गगन तरामुले आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरूमा र नेताहरूको पहुँचको आधारमा खोला नै नभएका ठाँउहरूमा पुल निर्माण गर्ने प्रचलन हुनुले पनि समस्या भएको बताए । काली गण्डकी १ हर्मिचौरका स्थानीय मुक्तिप्रसाद पाण्डेले यस स्थानमा नयाँ पुल निमार्ण गर्नका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए ।
काली गण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले जीर्ण बन्दै गएको मोटरे बल पुलको ठाउँमा नयाँ पुल निर्माणका लागि स्थानीय सरकारले पहल गरे पनि केन्द्रमा पहुँच नपुगेका कारण परिणाम देखिन नसकेको बताएका छन् ।
आफू निर्वाचित भएदेखि नै आफूले सो पुलका लागि पहल गर्दै आएको दाबी गर्दै नयाँ पक्की पुल निर्माणका लागि सडक विभागमा धाइरहँदा पनि पुल निर्माणको कार्यले सार्थकता पाउँन नसकेको उनको भनाइ छ ।
यता काली गण्डकी गाउँपालिका स्याङ्जाका निवर्तमान अध्यक्ष खिमबहादुर थापाले नयाँ पुल निर्माणका लागि आफूले केन्द्रमा पहल गर्दै आएको बताएका छन् ।
गत वर्ष गण्डकी प्रदेशबाट उक्त पुल मर्मतका लागि बजेटको व्यवस्था भए पनि प्राविधिकले यस स्थानमा मर्मत भन्दा नयाँ पुल नै उत्तम हुने भनेर प्रतिवेदन दिएपछि मर्मत पनि हुन नसकेको उनको भनाइ छ ।