© 2026
काठमान्डौ ।
नेपालले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार सम्पन्न समूह चरणको दोस्रो खेलमा इटलीसँग १० विकेटले पराजित भएपछि नेपालको सुपर ८ पुग्ने सम्भावना लगभग सकिएको छ ।
मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा इटलीका ओपनर जस्टीन मोस्का र एन्थोनी मोस्काले अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य इटलीले ४४ बल बाँकी रहँदै बिना विकेटको क्षतिमा पूरा गर्यो । दुवैले पहिलो विकेटका लागि १ सय २४ रनको अविजित साझेदारी गरेका थिए ।
जस्टीन मोस्का ६० बलमा ५ चौका र ३ छक्का सहयोगमा ६० रनमा नटआउट रहे । एन्थोनी मोस्काले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६२ रन बनाए । विश्वकपमा डेब्यु गरेको इटलीका लागि यो पहिलो जित हो । पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको इटलीले दोस्रो खेलमा ऐतिहासिक जित दर्ता गरेको हो ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १ सय २३ रनमै अलआउट भयो । आरिफ शेखले २४ बलमा ३ चौका सहित २७ रन बनाउँदै नेपालको पारी सम्हाल्ने प्रयास गरे । करण केसी १८ रनमा अविजित रहे । दीपेन्द्र सिंह ऐरीले १८ बलमा १७ रन बनाउँदा बोल्ड भए भने कप्तान रोहित पौडेलले १४ बलमा २ छक्का सहित २३ रन बनाए । आशिफ शेखले २० रन जोड्दा ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए ।
अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । सन्दीप लामिछाने ५ रनमा आउट भए भने लोकेश बम र गुल्सन झा ३–३ रनमा पवेलियन फर्किए । नन्दन यादव र ललित राजवंशी रनआउट हुँदै शून्य रनमै आउट भए ।
बलिङतर्फ नेपाल पूर्णतः दबाबमा देखियो । प्रयोग गरिएका कुनै पनि बलरले विकेट लिन सकेनन् । ललित राजवंशीले १ ओभरमा १९ रन खर्चिए । दीपेन्द्र सिंह ऐरीले ३.४ ओभरमा २४ रन दिए । करण केसीले २ ओभरमा २१ रन खर्चिँदा सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन दिए । नन्दन यादवले १ ओभरमा १२ तथा कुशल भुर्तेलले २ ओभरमा १५ रन खर्चे ।
यसअघि पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल लगातार दोस्रो हारसँगै अंकविहीन रहँदै समूह ‘सी’ को पुछारमा झरेको छ । दुई खेलमा एक जित र एक हार गरेको इटली २ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
समूहमा लगातार दुई जित निकालेको वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा छ । समान २ अंक भएका स्कटल्यान्ड र इंग्ल्यान्ड नेट रनरेटका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
नेपालले अब आइतबार वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । समूह चरणको अन्तिम खेल मंगलबार स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ ।