© 2026
बुटवल । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा सिद्धार्थनगर नगरपालिका, रुपन्देही जिल्ला पहिलो भएको छ ।
६८.४६ अंकका साथ सिद्धार्थनगर नगरपालिका प्रथम भएको हो । त्यसैगरी, तिलोत्तमा नगरपालिका ६६.५४ अंकका साथ दोस्रो र कञ्चन गाउँपालिका ६४.५५ अंकका साथ तेस्रो बनेको छ । आयोगले बिहीबार स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।
मूल्यांकनका सूचकमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको पनि समावेश गरिएको छ ।
आगामी आवको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ ।
यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयरको प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालकको अनुपात समेत आयोगले मूल्यांकनको आधार बनाएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका देशभरि सबैभन्दा उत्कृष्ट सावित भएको छ । आयोगले गरेको ७५३ स्थानीय सरकारमध्ये पाणिनी सबैभन्दा उच्च अंक प्राप्त गरी पहिलो स्थानमा रहेको छ । पाणिनीले कुल ८३.८४ अंक हासिल गरेको छ ।