© 2026
बुटवल ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुलभ खरेलको घरदैलो अभियानमा सहकारी पीडितहरूले विरोध प्रदर्शन गरेका छन् ।
प्राप्त विवरणअनुसार, मंगलबार दिउँसो रुपन्देही निर्वाचन क्षेत्र नं. २, बुटवल उपमहानगरपालिका वडा नं. ११, होराइजन चोकमा सुप्रिम बचत तथा ऋण सहकारीका पीडितहरूले खरेललाई नारा सहितको प्रदर्शन गर्दै लखेटेका हुन् । प्रदर्शनकारीहरूले “तिम्रो नेता खोई ?, लिएर आऊ”, “जेनजीका माग कसले पूरा गर्छ ?”, “सिंहदरबार किन जलाएको ?” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
पीडितहरूको भिड र नारा सुनिसकेपछि शुलभ नजिकैको एल डोराडो होटल भित्र प्रवेश गरी लुकेको पीडितहरुले दावी गरेका छन् । सहकारी पीडित चेतनाथ शर्माले भने, “हामीले दुःख गरेर जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ? यसको जवाफ त दिनुपर्यो नि ।”
सुसुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको छ । अधिकांश बचतकर्ताको आर्थिक अवस्था न्यून आय भएकोले उनीहरूले तीन वर्षदेखि रकम पाउन संघर्ष गर्दै आएका छन् ।
हामी पीडितको पैसा खाएका मान्छे खुलेआम हिड्ने, पैसा फिर्ता नहुने रु पीडितहरुले सामुहिक प्रश्न गरिरहेका छन् । तर उमेदवार खरेलले भने सहकारी पीडितले आफ्नो प्रचार अभियानमा प्रदर्शन गरेको वा लखेटेको बिषयमा अनभिज्ञता प्रकट गरेका छन् । म त बिहान १२ बजेतिर उक्त होटलमा खाना खान गएको हो कोहि पनि थिएनन्, खरेलले भने, यो त अचम्मको कुरा भयो ।
सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको पाइएको छ ।
गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।
सुप्रिमको रकम अपचलनमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष रवि लामिछानेले सहकारी ठगी तथा संगठित अपराध मुद्धामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उनले सोमबार मात्रै तारेख लिएका थिए ।