© 2026
भैरहवा, २८ माघ ।
ओमसतिया गाउँपालिकामा स्थानीय खेलकुदको प्रवर्द्धन तथा युवा प्रतिभा पहिचान गर्ने उद्देश्यसहित ‘चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता’ बुधबार देखि सुरु भएको छ ।
विशेष समारोहका बिच गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव र प्रमुख अतिथि सुनिताकुमारी चौधरीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने बताइन । उनले खेलमार्फत स्वस्थ समाज निर्माणमा टेवा पुग्ने उल्लेख गरिन ।
शिक्षा शाखा प्रमुख माधव प्रसाद पोखरेलले स्वागत मन्तव्य राख्दै शैक्षिक विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखिएको बताए ।
अध्यक्ष मन्जित यादवले स्थानीय तहबाटै खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य रहेको बताए । प्रतियोगितामा स्थानीय खेल प्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।
प्रतियोगितामा गाउँपालिकाका ६ वटै वडाबाट छनोट भएका ६ टोलीले सहभागिता जनाएका छन् । आयोजकका अनुसार प्रतियोगिता आगामी शनिबारसम्म सञ्चालन हुनेछ ।
यस वर्ष विजेता टोलीलाई ६० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले ३० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अनुशासित टिमलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।
त्यसै गरी उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, वेस्ट बलर र वेस्ट ब्याटरलाई जनही २ हजार ५०० रुपैयाँ तथा वेस्ट फिल्डर र इमर्जिङ प्लेयरलाई जनही १ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक मनोज यादवले बताए ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा अध्यक्षहरू बेल बहादुर बराल मगर, शितल जीटी, प्रकाश सिंह लगायतको उपस्थिति रहेको थियो ।