© 2026
भैरहवा ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा निर्वाचन सुरक्षाको तयारी तीव्र पारिएको छ । जिल्लामा परिचालन हुने निर्वाचन प्रहरीलाई बुधबारदेखि औपचारिक रूपमा फिल्डमा खटाइने भएको छ । फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित रुपन्देही प्रहरीले ४ हजार १६ जना निर्वाचन प्रहरी छनोट गरी १० दिने विशेष प्रशिक्षणपछि जिम्मेवारीमा पठाउन लागेको हो ।
जिल्लाभर रहेका १३ वटा प्रहरी युनिटमार्फत निर्वाचन प्रहरीलाई तालिम दिइएको थियो । तालिममा निर्वाचन प्रणाली, मतदान प्रक्रिया, निर्वाचन आचारसंहिता, गर्न हुने र नहुने व्यवहार, सुरक्षाकर्मीले पाउने सेवा सुविधा लगायतका विषयमा विस्तृत जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी जनक बहादुर शाहीले जानकारी दिए । उनका अनुसार तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासलाई प्राथमिकता दिइएको थियो ।
निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन मतदान प्रक्रियाको नमुना अभ्यास, भीड नियन्त्रण, मतदाता सहजीकरण, आकस्मिक अवस्था व्यवस्थापन तथा कानुनी दायित्वसम्बन्धी अभ्यास गराइएको थियो । प्राथमिक उपचारसम्बन्धी तालिम युनिभर्सल मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो भने प्रहरी कवाज, शारीरिक व्यायाम तथा अनुशासनसम्बन्धी प्रशिक्षण अनुभवी प्रशिक्षकबाट दिइएको हो ।
रुपन्देहीमा नेपाल प्रहरीतर्फ ४ हजार १९ जनाको माग गरिए पनि ४ हजार १६ जनालाई भर्ना गरिएको छ । सशस्त्र प्रहरीतर्फ ४ सय ७८ जना निर्वाचन प्रहरी भर्ना भई तालिम प्राप्त गरेका छन् । जिल्लामा कुल ४ हजार ४ सय ९७ जना निर्वाचन प्रहरीको आवश्यकता रहेको थियो । स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार प्रक्रिया पूरा गरिएको जनाइएको छ । नियमित सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले ४० दिनका लागि निर्वाचन प्रहरी परिचालन गर्ने व्यवस्था अनुसार उनीहरूलाई पाँचवटै निर्वाचन क्षेत्रमा तैनाथ गरिनेछ ।
तालिम समापनपछि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायतले निर्वाचन प्रहरीलाई शुभकामना दिँदै उच्च मनोबल, अनुशासन र निष्पक्षताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । निर्वाचनको दिन शान्ति सुरक्षा कायम राख्न प्रहरीको भूमिका निर्णायक हुने भन्दै तालिमबाट प्राप्त सीप र ज्ञानलाई व्यवहारमा उतार्न निर्देशन दिइएको छ ।