© 2026
काठमाडौं। मुलुकको आर्थिक समृद्धि बोकेका राष्ट्रिय गौरवका आयोजनाको खर्च ‘दर्दनाक’ देखिएको छ। सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक (पुस महिना) समिक्षासम्मको खर्चको अवस्था ‘दर्दनाक’ देखिएको हो।
चालू आर्थिक वर्ष २०८२/८३ मा २३ वटा गौरवका आयोजनाका लागि कुल ६७ अर्ब ८ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर, पुस मसान्तसम्ममा जम्मा १० अर्ब ३९ करोड ३९ लाख रुपैयाँ मात्र खर्च भएको छ। यो कुल विनियोजित बजेटको मात्र १५.४९ प्रतिशत मात्रै रहेको सो समिक्षमा उल्लेख गरिएको छ।
हालसम्म माथिल्लो तामाकोशी, गौतमबुद्ध र पोखरा विमानस्थल तथा मेलम्ची खानेपानी (पहिलो चरण) मात्र सम्पन्न भएर सञ्चालनमा आएका छन्। बाँकी २३ आयोजनाहरू अझै निर्माणकै चरणमा छन्।
आर्थिक वर्ष २०८१/०८२सम्ममा पुष्पलाल राजमार्गको ८१.७३ प्रतिशत, हुलाकी राजमार्गको ७४.३५ प्रतिशत र काठमाडौं–तराई द्रुतमार्गको ४२.१३ प्रतिशत भौति प्रगति रहेको उल्लेख छ।
साढे एक दशक अगाडि (आर्थिक वर्ष २०६८/६९) मा १७ वटा आयोजनाबाट सुरु गरिएको राष्ट्रिय गौरवका आयोजनाको संख्या हाल २७ पुगेको छ। ५० अर्बभन्दा बढी लागत भएका वा रणनीतिक महत्वका आयोजनालाई यो सूचीमा राख्ने गरिएको समिक्षामा उल्लेख छ।
आयोजना समयमै सम्पन्न हुन नसक्नुमा मुख्यतया वन क्षेत्रको उपयोगमा जटिलता, जग्गा प्राप्ति र मुआब्जा वितरणको विवादलाई प्रमुख कारण रहेको अर्ध वार्षिक समिक्षामा उल्लेख छ।
आयोजनाको पूर्व तयारी (डीपीआर,जग्गा प्राप्ति) सम्पन्न गरेर मात्र ठेक्का लगाउन, छुट्टै कानुनी र प्रशासनिक संरचना तयार गर्न र आयोजना प्रमुखको पदावधि सुनिश्चित गर्न सुधारको आवश्यक रहेको चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षामा उल्लेख गरिएको छ।