मोरङ ।
कोशी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आज विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन भएको थियो। सभामा सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशका प्रदेश प्रदेश प्रमख परशुराम खापुङबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र एवं प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा वाचन गरेर सदनलाई जानकारी दिएका थिए ।
यसैगरी उनले प्रदेशसभाको सदस्यको स्थान रिक्त सम्बन्धमा जानकारी गराउदैँ निर्वाचन आयोग नेपालबाट पार्टी एकीकरण सम्बन्धमा प्राप्त पत्र वाचन गरेका थिए । सभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै दल लाग्नुपर्ने बताए। उनले मुलुकलाई समृद्धि, सुशासन, भ्रष्टाचारको अन्त्यका लागि दलहरूबीच एकताको विकल्प नरहेको धारणा राखेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता प्रेमराज थाङसुहाङले कोशी प्रदेश राष्ट्रियसभाको निर्वाचनको मतदानका दिन आफू प्रदेश बाहिर भए पनि आफ्नो मत खसेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएकामा आपत्ति जनाएका थिए ।नेपाली कम्युनिष्ट पार्टी, संसदीय दलका नेता इन्द्रबहादुर आङवोले सुशासन कायम राख्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । नेकपा एमाले संसदीय दलका उपनेता तीलकुमार मेयाङवोले मुलुकमा लोकतन्त्रलाई सुदृढ गर्न दलहरूबीच एकताबद्ध हुनु जरुरी रहेको धारणा राखेका थिए ।
प्रदेशसभाको अर्को बैठक माघ २६ गते दिनको १ः०० बजे बस्नेछ । रासस