Butwal Today

विपद् पूर्व सावधानीको अपरिहार्यता 

२५ माघ २०८२, आइतबार
अ+
अ-

अबको एक सातापछि फागुन महिना सुरुवात हुँदै छ । फागुनदेखि तराई र पहाडमा विपद्को जोखिम सुरु हुन्छ ।

अर्थात् फागुन विपद् जोखिम सुरु हुने महिना हो । यही महिनादेखि तराई र पहाडमा आगलागीका घटना बढ्न थाल्छन् । तर, यो वर्ष जाडो महिनामै गर्मी महिनालाई बिर्साउने गरि आगलागीका घटना बढेको छ ।

यसले विपद् आउनु पूर्व सावधानी अपनाउनुपर्नेतर्फ आम सर्वसाधारण नागरिकलाई होसियार बनाएको छ । विगतका घटनाबाट शिक्षा लिँदै गर्मी सुरु हुँदै गर्दा पहिले नै सावधानी अपनाउन सकियो भने निश्चित रूपमा ठुलो मानवीय र भौतिक क्षतिबाट बच्न सकिन्छ । अतः अहिलेदेखि नै विपद्बाट कसरी जोगिने भन्ने बिषयमा तीनवटै तहका सरकारदेखि हरेक घर परिवारको ध्यान जानु जरुरी छ ।

गत महिनामात्रै गर्मीयाम सुरु नहुँदै राजधानीलगायत देशका विभिन्न क्षेत्रमा आगलागीका घटना भएका छन् । कतिपय बेला मानवीय त्रुटिको कारणले पनि आगलागीको घटना हुने गरेका छन् । यो बेला अधिकांश आगलागीका घटना विद्युत् सर्ट भएर हुने गरेको छ ।

यो घरमा हुने घटना भयो तर, घर बाहिर हुने घटना त्यो भन्दा पनि ठुलो हुने भएकोले आगलागी पूर्व सचेतनाको आवश्यकता छ । तथ्याँक नै हेर्ने हो भने पनि पछिल्लो तीन साताको अवधिमा पश्चिमको डोल्पा, रुकुम र प्युठानमा धेरै आगलागी भएका छन् ।

तसर्थ अव आगलागीको घटना नियन्त्रणमा ध्यान दिनु आवश्यक छ । अहिलेपनि सुदूर पश्चिमका विभिन्न स्थानका जंगलमा पनि आगलागीका घटना बढेका छन् । यसर्थ सतर्कता अपनाउनु जरुरी छ ।

अर्को चुनौति के छ भने राजधानी भित्र र बाहिरका घना सहरी क्षेत्रमा अव्यवस्थितरूपमा निर्माण गरिएका घरमा आगलागी हुँदा सहजरूपमा वारुणयन्त्र जान सक्ने अवस्था छैन । वारुणयन्त्र जान सक्ने अवस्था नहुँदा आगलागी नियन्त्रण गर्नसमेत चुनौती थपिएको छ ।

यस्तो बेला कम्तिमा पनि बारुणयन्त्र र एम्बुलेन्स जानसक्ने गरि घर निर्माण गर्ने तथा घनाबस्तीमा सडक फराकिलो पार्नु अबको आवश्यकता हुनुपर्दछ । सवैभन्दा पहिला त आगलागीका घटना हुन नदिन नागरिकहरू आफै नै सचेत हुनुपर्ने आवश्यकता छ ।

धेरै आगलागीका घटना घरको बिद्युत लाईन सर्ट भएर भएको हुँदा यसतर्फको सजगता पनि अबको प्राथमिकतामा पर्नु जरुरी छ । यसका लागि सवैले आ–आफ्नो घरमा जडान गरेको विद्युतको लाइनको बारेमा जानकारी राख्नुको साथै थप मर्मत गर्नुपर्ने भएमा नेपाल विद्युत् प्राधिकरणलाई खबर गर्नु जरुरी छ ।

वारुणयन्त्र जान नसक्ने अवस्थामा पनि आगो नियन्त्रणका लागि अन्य वैकल्पिक उपायको खोजी गरेर तयारी अवस्थामा रहन सवैले ढिला नगरौं ।  अबको दिनमा गर्मी लाग्दै गर्दा आगलागीबाट हुन सक्ने मानवीय र भौतिक क्षतिलाई रोक्नको लागि सावधानी अपनाउनुको अर्को विकल्प छैन ।

विपद पूर्वको जोखिम नियन्त्रणमा सवैको ध्यान गएन भने त्यसले ठुलो क्षति निम्त्याउने भएकोले विपदका घटनामा पूर्व सावधानीको खाँचो छ । ठूला भन्दा सानो घरमा आगलागी भएको अवस्थामा दमकलले काम गर्न सक्ने अवस्था छ ।

तसर्थ ठूला भवन निर्माण गर्दा आगलागी नियन्त्रण गर्ने संयन्त्रको खोजी गरौं । करोडौंको घर बनाउँदा लाखको लगानीमा जोखिम नियन्त्रण गर्न सकिन्छ भने त्यसतर्फ किन ध्यान नदिने ? आगलागी मात्रै होइन, गर्मीबाट हुनसक्ने थप भौतिक तथा मानवीय क्षति रोक्ने संयन्त्रको निर्माणमा ध्यान जाओस् ।

अव वन जंगलमा पनि आगलागी र डढेलोको घटना हुने भएकोले सलाई बाल्दा, चुरोट सल्काउँदा सावधानीको खाँचो छ । घर घरमा विद्युतीय सामग्री चलाउँदा, घरमा अति प्रज्ज्वलनशील पदार्थ भण्डारण गर्दा सावधानी अपनाउनु पर्ने खाँचो छ ।

बढ्दो आगलागीको घटना नियन्त्रण गर्न सरकारीस्तरबाट पनि पहल जरुरी छ । हतारको कामले फुर्सदमा पछुताएर केही हुँदैन । अतः सावधानीको पूर्व तयारी अहिलेदेखि नै गरौं ।