Butwal Today

गाउँमा छैन चुनावी चर्चा, सामाजिक सञ्जालमै सीमित माहौल

२१ माघ २०८२, बुधबार
अ+
अ-

बर्दिया, २१ माघ ।

आसन्न निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी गतिविधि बढ्दै गएको देखिए पनि बर्दियाका ग्रामीण भेगमा भने यसको प्रभाव खासै देखिएको छैन ।

सामाजिक सञ्जालमा चुनावी बहस, अनुमान र प्रचार तीव्र भए पनि गाउँघर, चोक चौतारा र खेतबारीमा भने चुनावी चहलपहल अझै सुरु हुन सकेको छैन ।

बजार केन्द्रित राजनीति र डिजिटल प्लेटफर्ममा सीमित बहसले ग्रामीण जनजीवनलाई छुन नसकेको स्थानीयको गुनासो छ । खेतबारीमा श्रम गर्ने, गाईभैंसी पाल्ने, सानोतिनो व्यवसाय गरेर जीवन धानिरहेका सर्वसाधारणलाई अहिले चुनावभन्दा दैनिकीको चिन्ता ठुलो रहेको देखिन्छ ।

बढैयाताल गाउँपालिका वडा नम्बर ७ का युवा समाजसेवी हरिप्रसाद चौधरीका अनुसार गाउँमा चुनावी माहौल अझै बनेको छैन । “सहरतिरका मानिस गाउँ फर्किएर चिया पसल र भट्टीमा बहस सुरु भएपछि मात्रै यहाँ चुनाव तात्छ,” उनले भने, “अहिले उम्मेदवारहरू परिचय दिन गाउँ आउन थालेका छन्, तर आम मानिसमा चुनाव लागेको अनुभूति छैन ।”

उनका अनुसार सामाजिक सञ्जाल, विशेष गरी फेसबुक, टिकटक र युट्युबमा भने चुनावी माहौल निकै तातेको देखिन्छ । “अनुमान र प्रक्षेपण भइसकेका छन्, कतिपय उम्मेदवार त जितिसकेजस्तै प्रस्तुत गरिन्छन्,” उनले भने, “तर त्यो वास्तविकतासँग कति मेल खान्छ भन्ने थाहा पाउन परिणाम कुर्नै पर्छ ।”

यसैबिच, राजनीतिक परिवर्तनको सवालमा पनि ग्रामीण तहमा गहिरो निराशा देखिन्छ । २०४६ सालपछिका आन्दोलन, निर्वाचन र सत्ता परिवर्तनको समीक्षा गर्दा अनुहार फेरिए पनि संरचना, प्रणाली र नीतिमा उल्लेख्य परिवर्तन नआएको स्थानीयको धारणा छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले अहिले अधिकांश राजनीतिक दलहरू वर्तमान संविधान र प्रणालीमै प्रतिबद्ध देखिएको बताए । “एक समय प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली र प्रदेश संरचना खारेजीजस्ता मुद्दा उठेका थिए,” उनले भने, “तर अहिले ती विषय कुनै दलको प्राथमिकतामा देखिँदैनन् ।”

उनका अनुसार घोषणापत्र सार्वजनिक भएपछि मात्र दलहरूको दृष्टिकोण अझ स्पष्ट हुनेछ । “प्रणाली उही, संरचना उही र नीतिहरू पनि उस्तै रहेपछि राज्यमा तात्त्विक परिवर्तनको अपेक्षा गर्न कठिन देखिन्छ,” उनले भने ।

बार बर्दिया नगरपालिकाका युवा समाजसेवी वासुदेव सुवेदीले सामाजिक सञ्जालमा देखाइने परिवर्तनको आशा अतिरञ्जित भएको दाबी गरे । “मोबाइलको स्क्रिनमा देखिने राजनीतिक विश्लेषण र वास्तविकता फरक छन्,” उनले भने, “रमाइलो त धेरै छ, तर अन्त्यमा ‘जन्ती बाख्रो खान जाने तर टर्रङ्गको झोलमै चित्त बुझाउने’ अवस्था दोहोरिन सक्छ ।”

यद्यपि, निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनु नै अहिलेको सबैभन्दा व्यावहारिक राजनीतिक निकास भएको स्थानीयहरूको साझा धारणा छ । निर्वाचनले राजनीतिक स्थिरता, वैधानिकता र असहमतिको समाधानका लागि आधार तयार गर्ने विश्वास गरिएको छ ।

“चुनावले सबै समस्या समाधान गर्छ भन्ने होइन,” एक स्थानीयले भने, “तर यसले देशलाई वैधानिक बाटोमा अघि बढाउँछ ।” तर हालको अवस्थामा सामाजिक सञ्जालमा तातिएको चुनावी माहौलले बर्दियाका गाउँघरलाई भने अझै तताउन सकेको छैन । गाउँमा चुनावी गीत, भीड, बहस र चहलपहल सुरु हुन अझै केही समय लाग्ने सङ्केत देखिन्छ ।