© 2026
बुटवल, २० माघ ।
दीप बोर्डिङ हाई स्कुल, बुटवलमा अध्ययनरत विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, कविता, भाषण, चित्रकला, तेक्वान्दो, योग लगायत विविध सिर्जनात्मक तथा शारीरिक क्षमताको प्रस्तुति दिएका छन् ।
विद्यालयमा आइतबारदेखि सुरु भएको यस कार्यक्रमअन्तर्गत मंगलबार कक्षा १ का विद्यार्थीहरूले आफ्ना प्रतिभा शिक्षक, अभिभावक, विद्यार्थी तथा अतिथिहरूको उपस्थितिमा प्रदर्शन गरेका हुन् । पूर्व–प्राथमिक तहदेखि कक्षा ९ सम्मका करिब दुई हजार विद्यार्थीले चरणबद्ध रूपमा आफ्ना प्रतिभा प्रस्तुत गर्ने विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्याब्सन रुपन्देहीका अध्यक्ष भोजबहादुर पौडेलले औपचारिक शिक्षा मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीमा रहेको प्रतिभा पहिचान र प्रवर्द्धन आजको आवश्यकता भएको बताए । “बालबालिकाको रुचि र क्षमताअनुसार अवसर दिन सकियो भने उनीहरू भविष्यमा आत्मनिर्भर र सशक्त नागरिक बन्न सक्छन्,” उनले भने ।
विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजूले दीप बोर्डिङ हाई स्कुल शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र विकासमा केन्द्रित रहेको बताए । “विद्यार्थीको पढाइसँगै कला, खेल र संस्कार विकास गर्नु नै हाम्रो मूल लक्ष्य हो,” उनले स्पष्ट पारे ।
विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले प्रतिभा प्रस्फुटन कार्यक्रमले विद्यार्थीको आत्मविश्वास बढाउने र सार्वजनिक रूपमा प्रस्तुत हुने क्षमता विकास गर्ने विश्वास व्यक्त गरे । “यस्ता कार्यक्रमले विद्यार्थीलाई लुकेको प्रतिभा चिन्ने र निखार्ने अवसर दिन्छ,” उनले भने ।
उपप्राचार्य कलाधर अर्यालले विद्यालयले विद्यार्थी–केन्द्रित शिक्षण पद्धति अवलम्बन गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । “उत्कृष्ट प्रतिभा देखाउने विद्यार्थीलाई विद्यालयको वार्षिक उत्सव तथा अन्य विशेष कार्यक्रममा सम्मान र पुरस्कार प्रदान गरिनेछ,” उनले भने ।
विद्यालयका अनुसार कार्यक्रमबाट पहिचान गरिएका प्रतिभावान विद्यार्थीहरूलाई आगामी दिनमा थप प्रशिक्षण र अवसर उपलब्ध गराइनेछ । प्रतिभा प्रस्फुटन कार्यक्रमले विद्यालयमा उत्साहपूर्ण वातावरण सिर्जना गर्नुका साथै अभिभावकको पनि सकारात्मक सहभागिता बढाएको छ ।