Butwal Today
१४ औँ वार्षिकोत्सव (शिक्षा विशेष)

प्राविधिक शिक्षाको जग बसाल्ने बीटीआई

१९ माघ २०८२, सोमबार
अ+
अ-

बुटवल ।

सन् १९५८ मा नर्वेका इन्जिनियर अड हफ्टन नेपाल आए । हफ्टनले बुटवल टेक्निकल इन्स्टिच्युटको स्थापना गरे ।

नर्वेबाट ल्याएको पूरानो बसलाई अस्थायी कार्यालय बनाएर उनले बुटवल टेक्निकल इन्स्टिच्युटको जग बसालेका थिए । हफ्टन ८ जनवरी १९५८ मा पाल्पा मिसन अस्पताल निर्माण कार्यको लागि पहिलो पटक नेपाल आएका थिए । उनले सन् १९५८ देखि १९६३ सम्म पाल्पा मिसन अस्पताल निर्माण गरे ।

तत्कालीन समयमा अस्पताल निर्माणको क्रममा नेपालमा दक्ष प्राविधिक जनशक्तिको अभाव महसुस गरेका उनले बुटवलमा व्यावसायिक तालिम शिक्षालय (बुटवल टेक्निकल इन्स्टिच्युट) स्थापना गरेका थिए ।

युनाइटेड मिसन टु नेपालका तर्फबाट पाल्पामा मिसन अस्पताल बनाउन आएका नर्वेजियन नागरिक अड हफ्टनले करीब ५० वर्ष नेपालमै बिताएका थिए । त्यसक्रममा उनले बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) र बुटवल पावर कम्पनी (बीपीसी) को स्थापना गरेका थिए ।

सन् १९६४ मा बीटीआई, बुटवल इन्जिनियरिङ बक्र्स प्रालि, तिनाउ हाईडोपावर प्लान्ट १९६६–७८, बुटवल उड इन्डस्टिज प्रालि १९७८, झिमरुक हाइड्रोपावर प्लान्ट १९९२–१९५५ र हिमाल पावर लिमिटेड १९९२ स्थापना उनकै अगुवाईमा भएका थिए ।

नेपालको जलउर्जाका पिता भनेर चिनिने उनै हफ्टनले बुटवलमा प्राविधिक शिक्षाको जग हालेका थिए । अड हफ्टन २०७९ चैतमा बितेर गए । उनी बितेर गएपनि बुटवलका साथै नेपालका विभिन्न स्थानमा स्थापना गरेका संस्थाले प्राविधिक शिक्षा, हाईड्रो जस्ता क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन् ।

कात्तिक २०२० मा युनाईटेड मिसन टु नेपाल र तत्कालीन श्री ५ को सरकारबीच बुटवलमा औद्योगिक विकासका लागि प्राविधिक इन्स्टिच्युट (बुटवल टेक्निकल इन्स्टिच्युट) स्थापना गर्ने सहमति भयो । त्यसपछि बीटीआईले सीपमूलक तालिम दिन थाल्यो ।

अड हफ्टनको जीवनीमा आधारित पुस्तक पावर फर नेपालः अड हफ्टन एण्ड द हिस्ट्री अफ हाइड्रोपावर डेभलपमेन्टमा लेखिएको छ–“सन् १९६४ को वसन्ततिर गोरखाको यूएमएन परियोजनाबाट १४–१६ वर्ष उमेरका गाउँले केटाहरू ‘बुटवलमा इन्जिनियर बन्न पाइन्छ अरे’ भन्ने हल्ला पछ्याउँदै आए । इन्जिनियर नभए पनि उनीहरूलाई हात र दिमागको प्रयोग गरेर काम सिक्ने अवसर दिइयो। जसबाट उनीहरू शिल्प–व्यापारी बन्न सक्थे ।”

बीटीआई खुल्नेताकाबुटवलको जनसंख्या करीब ४ हजार रहेको बीटीआईमा ५० वर्ष सेवा गरेका पीएल श्रेष्ठ बताउँछन् । जसरी बुटवल विस्तार हुँदै गयो र जनसंख्या बढ्दै गयो, त्यसरी नै बीटीआईको  महत्त्व बढ्दै थियो । तर, पछिल्लो समयमा अरू धेरै संस्था स्थापना भएपछि बीटीआईको बजार घटेको उनी बताउँछन् । उनी भन्छन्–“त्यसबेलाको बीटीआई र अहिलेको बीटीआई तुलना गर्न सकिँदैन ।”

नेपालको जलविद्युत विकासमा समर्पित एक जना इलेक्ट्रिकल इन्जिनियर बलराम प्रधानको जीवनीमा आधारित पुस्तक बन्दीपुरदेखि बन्दीपुरसम्ममा आफ्नो जीवनकालमा नेपाली राजनीति र विकासे नेताहरूबाट हुन नसकेको काम हफ्टनको अगुवाईमा सम्भव भएको उल्लेख छ । बीटीआईले बजारलाई चाहिएको जनशक्ति उत्पादन गरेको बुटवल अटो इन्जिनियरिङ एशोसिएशनका पूर्व अध्यक्ष ज्योति भण्डारी बताउँछन् ।

बीटीआईनेपाल सरकारको मिति २०६७ कात्तिक ७ को निर्णयपछि कम्पनी ऐन २०६३ अनुसार मिति २०६७ पुस १८ मा नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता पश्चात् हाल बुटवल टेक्निकल इन्स्टिच्यूट “मुनाफा वितरण नगर्ने कम्पनी” को रूपमा दर्ता भई सञ्चालनमा रहेको बीटीआईका प्रमुख मनकाजी कुमाल बताउँछन् ।

उनका अनुसार उद्योगीहरूसँग सहकार्यमा साना ठुला गरी १०० भन्दा बढी उद्योगहरूसँग सहकार्य गरी र एप्रेन्टीसेसीप तालिम सञ्चालन हुँदै आएको छ । एप्रेन्टिसेसीप तालिम भनेको काम गर्दै सिक्ने तालिम हो । यो उद्योग नभई सञ्चालन गर्न नसकिने भएकाले उद्योगहरूसँग सहकार्य गरी सञ्चालन भइरहेको उनी बताउँछन् ।

बीटीआईका गोविन्द न्यौपानेका अनुसार बीटीआइमा अहिले सिटीईभिटीतर्फ प्रि डिप्लोमा तहमा ८२ जना, प्रि डिप्लोमा तह बीटीआईतर्फ ६२ जना, प्रि डिप्लोमा तह बुटवल उपमहानगरपालिकातर्फ ४० जना, डिप्लोमा तह बीटीआईतर्फ ९९ जना र छोटो अवधिका २० जना प्रशिक्षार्थी गरी ३ सय ३ जना प्रशिक्षार्थीले तालिम लिन्छन् । मेकानिकल, इलेक्ट्रिकल, वेल्डिङ, कारपेन्ट्रीजस्ता क्षेत्रमा तालिम चलाउँदै आएको छ ।

बुटवलमा महिलालाई प्राविधिक शिक्षामार्फत सबल बनाउने उद्देश्यका साथ बुटवल उपमहानगरपालिकाले ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउन छोरी पढाऊ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटसँग सहकार्य गरेको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार बीटीआईमा पढ्दा लाग्ने सम्पूर्ण खर्च बुटवल उपमहानगरपालिकाले बेहोर्ने गरी ४० जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । “महिलालाई प्राविधिक क्षेत्रमा पनि अब्बल बनाउनुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो, उनले भने, यो कार्यक्रममा बुटवलका बासिन्दा मात्रै हुनुपर्छ भन्ने छैन, देशभरबाटै आवेदन दिएर पढ्न पाइन्छ ।”

एसएलसी वा एसइई दिई १६ वर्ष उमेर पूरा गरेका छात्राले प्रिडिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रिडिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०/२० जनाले बीटीआईमा पढ्छन् ।

नगर प्रमुख पाण्डेय भन्छन्,–“एकातिर दक्ष जनशक्तिको अभाव छ, अर्कोतिर सीप सिक्न चाहनेको सङ्ख्या धेरै छ, अहिलेका लागि हामीले ४० जना छोरीलाई अध्ययनका लागि लाग्ने खर्च व्यवस्थापन हुने गरी सहकार्य गरेर यो कार्यक्रम सञ्चालन गरेका छौँ, यो कार्यक्रम निरन्तर सञ्चालन हुन्छ ।”

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) द्वारा सन् २०२२ मा गरिएको श्रम बजार विश्लेषणमा आधारित प्रक्षेपण अनुसार सन् २०३० सम्म स्वास्थ्य, कृषि, निर्माण, पर्यटन लगायतका क्षेत्रमा लाखौँ दक्ष जनशक्तिको आवश्यकता पर्नेछ ।

कृषिमा ६ लाखभन्दा बढी, निर्माण क्षेत्रमा ६ लाखभन्दा बढी, स्वास्थ्य क्षेत्रमा १ लाख र पर्यटन क्षेत्रमा २ लाख जनशक्ति आवश्यक पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?