© 2026
गुल्मी,१८ माघ ।
गुल्मीको सदरमुकाम तम्घासमा अटो रिक्साको मनपरी भाडा शीर्षकमा बुटवल टुडे अनलाइन र पत्रिकामा पटक पटक समाचार प्रकाशन भएपश्चात् भाडा दर निर्धारण गरिएको छ ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार तम्घास बजार क्षेत्रमा प्रतिव्यक्ति पचास रुपियाँ र सोही क्षेत्रमा रिजर्भ गर्नुपरेमा एक सय रुपियाँ भाडा दर निर्धारण गरिएको छ । सो भाडा दर बिहान ५ बजेदेखि साँझ ८ बजेसम्मका लागि निर्धारण गरिएको हो । साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म एक सय रुपियाँदेखि दूईसय रुपियाँ भन्दा माथि लिन नपाउने गरी व्यवस्था गरिएको छ । बजार क्षेत्रबाहेक रिजर्भका लागि कच्ची सडकमा प्रति किलोमिटर ८० र पक्की सडकमा ५० रुपियाँ भाडा दर निर्धारण गरिएको छ । तोकिएको भन्दा बढी भाडा लिएमा कानुनअनुसारको कारबाही गरेरै छाड्ने नगरपालिकाले चेतावनी दिएको छ ।
यस भन्दा पहिले अटो रिक्साले तम्घास बजारबाट उपल्लो तम्घाससम्मको दुई सय रुपियाँसम्म भाडा असुल गर्दै आएका थिए । नगरपालिकाले निर्धारण गरेको भाडादरबाट सर्वसाधारणलाई राहत मिलेको यहाँका स्थानीयहरूले जनाएका छन् ।
नगरपालिका भित्र ४९ वटा अटोरिक्साहरु दर्ता भएका छन् भने ४२ वटा मात्र सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । त्यी मध्ये न्यून मात्रामा मात्रै नवीकरण भएका छन् ।