Butwal Today

लुम्बिनीमा ‘पीएम कप प्रदेश स्तरीय छनौट’ क्रिकेट प्रतियोगिता हुँदै, ७ जिल्ला भिड्ने

१८ माघ २०८२, आइतबार
अ+
अ-

भैरहवा ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आगामी माघ १९ गतेदेखि ‘पीएम कप एक्सट्रिम इनर्जी ड्रिङ्क प्रदेश स्तरीय छनौट प्रतियोगिता २०८२’ सुरु हुने भएको छ ।

एग्रो थाई फुड्स ( एक्सट्रिम इनर्जी ड्रिङ्क) को मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरि जनाएको छ ।

माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाका टोलीहरूले सहभागिता जनाएको खेलकुद संयोजक प्रथम पराजुलीले बताए  । प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका क्रिकेट टोलीहरूबिच प्रतिस्पर्धा हुने छ ।

माघ १९ देखि २४ गतेसम्म चल्ने प्रतियोगिताको लागी करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको  ‘प्लेयर अफ द सिरिज’लाई नगद  ११ हजार १११ रुपैयाँ र ट्रफी, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १ हजार १०० रुपैयाँ र ट्रफी तथा विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने पराजुलीले बताए ।

प्रतियोगिताको सबै खेल भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशाला र तिलोत्तमामा रहेको एक्स्ट्राटेक क्रिकेट रङ्गशालामा खेलाइने छ ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष विनय राजभण्डारीले प्रतियोगिताले प्रदेशभित्र रहेका क्रिकेट प्रतिभाहरूलाई पहिचान गर्न र राष्ट्रिय स्तरको पीएम कपका लागि उत्कृष्ट खेलाडीहरू छनौट गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल क्रिकेट सङ्घले लुम्बिनी प्रदेशका ७ वटा जिल्लालाई मात्र मान्यता दिएकोले अन्य जिल्ला प्रतियोगितामा समावेश हुन नपाउने राजभण्डारीले बताए । तर कुनै खेलाडी छनौट खेलमा खेल्न चाहे उ खेल्न पाउने राजभण्डारीको भनाइ छ । यस्तो अवस्थामा उक्त खेलाडीले हाल खेलिरहेको जिल्लाबाट भने फुकुवा पत्र लिएर आउनुपर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरि बहादुर थापा, नेपाल क्रिकेट सङ्घका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, एक्सट्रिम इनर्जी ड्रिङ्कका लुम्बिनी प्रदेश म्यानेजर राम बहादुर क्षेत्रीले छनौट खेलको महत्त्व बारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सङ्घका प्रदेश सचिव कैलाश रोक्काले गरेका थिए ।

प्रधानमन्त्री कप चैत्र महिना देखी मधेस प्रदेशमा हुँदैछ ।