© 2026
लुम्बिनी प्रदेशमा प्रदेशसभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ जित हासिल गर्ने एकमात्र महिला हुन्, कृष्णा केसी । साविकको माओवादी केन्द्रबाट प्रदेश सभा २०७४ मा पनि उनी र एमालेकी आरती पौडेलले मात्रै प्रत्यक्षतर्फ निर्वाचन जितेका थिए । प्रदेश सभाको कार्यकाल पूरा नहुँदै राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको मैदानमा छिन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएकी उनी यसअघि नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभा सदस्यमा दुई पटक निर्वाचित भई तीन पटक मन्त्री बनेकी थिइन् । उनले राजनीतिमा महिलाहरुको प्रतिनिधित्व सुरक्षित र सशक्त बनाउने उद्देश्यका साथ प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएको बताएकी छन् ।
प्रदेश सभा सदस्य पद बीचमै छाड्नुको कारण, पार्टी परिवर्तनलगायतका विषयमा बुटवल टुडेका लागि विमला चौधरीले गरेको कुराकानीः
लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष निर्वाचित एक मात्र महिला सांसद भएर पनि तपाईंले पद छाडेर प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएको छ । यो निर्णय महिला प्रतिनिधित्व कमजोर बनाउने कदम हो कि बलियो बनाउने ?
महिला प्रतिनिधित्व कमजोर बनाउने मेरो रणनीति होइन । प्रदेश सभामा मैले दुई कार्यकाल पूरा गरें । दुई पटक प्रत्यक्ष निर्वाचित गराएर जनताले मलाई पठाउनुभयो । अब महिलाहरूलाई अझ मजबुत बनाउने उद्देश्यले प्रतिनिधि सभामा मेरो उम्मेदवारी हो । अर्को कुरा, बाँकेको तीनवटा निर्वाचन क्षेत्रमा ५६ जना उम्मेदवार छन्, जसमध्ये पाँच जना मात्र महिला छन् ।
अझ प्रमुख दलहरूले त महिलाहरूलाई पत्याउन सकेनन् । प्रमुख दलबाट महिला उम्मेदवार नै छैनन्, महिला सहभागिताको कुरा नारामै सीमित भएको छ । अन्य दलमा मभन्दा पनि सक्षम महिलाहरू हुनुहुन्छ । तर ठूला दलहरूले महिलालाई विश्वास नगरेर बञ्चित गरेका छन् । त्यसैले महिलाहरूलाई सुरक्षित र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा मेरो उम्मेदवारी हो ।
तपाईं दुई पटक प्रदेश सभा सदस्य र तीन पटक मन्त्री बनेर बाँके क्षेत्र नम्बर १ का जनताले तपाईंको प्रत्यक्ष योगदान के–के पाए ? आज सोही क्षेत्रमा उम्मेदवार भएर भोट माग्दा जनतासामु देखाउने ठोस उपलब्धि के हो ?
पहिलो कुरा, वर्षौंसम्म अन्धकारमा रहेका नरैनापुर र राप्ती सोनारीलाई उज्यालोतर्फ ल्याउने काम भयो । नरैनापुरलाई बघौडा र राप्ती सोनारीलाई सुनारी भनेर चिनिन्थ्यो । त्यहाँ जग्गा जमिन छाडेर बस्नुपर्ने अवस्था थियो । त्यो अवस्थाबाट जनतालाई बाहिर निकाल्ने काम भयो । दोस्रो, सडक सञ्जाल विस्तार भयो ।
नरैनापुर–अगैया, कचनापुर हुँदै राँझा विमानस्थलसम्म सडक जोडियो । भित्री सडकहरू कालोपत्रे र स्तरोन्नति भए । राप्ती सोनारी र नरैनापुरमा १५–१५ शैय्याको अस्पताल बने । प्रशासनिक भवन निर्माण भए । कृषि क्षेत्रलाई ‘हब’का रूपमा विकास गर्न आधार तयार गरियो ।
कृषि उपकरण वितरणदेखि कृषि र पशुपालनका पकेट क्षेत्र घोषणा भए । सिँचाइको व्यवस्था गरियो । नहर सम्भव हुने ठाउँमा नहर, सम्भव नभएका ठाउँमा डिप ट्युबवेल र स्यालो ट्युबवेलमार्फत जमिन सिँचित गरियो ।
महिला, जनजाति, सुकुम्बासी, मुक्त कमैया, सहकारी, शिक्षा र भौतिक पूर्वाधार सबै क्षेत्रमा योगदान गरेको छु । म आफैं भुइँमान्छे भएकाले गाउँ–टोलमा भिजेर काम गरेकी छु । पुल–पुलेसा निर्माण तपाईंहरूले देख्नुभएको छ ।
अहिले राप्ती सोनारी र नरैनापुर जोड्ने सिधनिया घाटको १ हजार १४० मिटर लामो पुल निर्माणाधीन छ, जुन मेरो प्रत्यक्ष पहल हो । यी सबै कामहरू जनताले प्रत्यक्ष अनुभूति गरेका छन् । बाँकी विकास निर्माणलाई अझ फराकिलो दायरामा लैजान प्रतिनिधि सभामा मेरो उम्मेदवारी हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छोरीसरहको सम्बन्ध थियो भन्ने चर्चा थियो । तर अहिले प्रचण्ड नेतृत्वको नेकपाबाट अलग भएका जनार्दन शर्मा नेतृत्वको नयाँ पार्टी रोज्नुको वास्तविक कारण के हो ?
मैले पार्टी छोडेर कहीँ गएको पनि छैन, हामी भित्रैको हो । हिजो जस्तो अटुट सम्बन्ध थियो मेरो पार्टी अध्यक्ष जनयुद्धको एउटा सुप्रिम कमाण्डर भन्दा बाहिर छैन ।
भित्र चाँही केही कुराहरु क्षणिक विद्रोह र क्षणिक असन्तुष्टि हुन सक्छ । तर, मेरो असन्तुष्टि केही छैन । त्यसकारणले उहाँहरुसँग विद्रोह गरेर, सम्बन्ध तोडेर त्यसो गरेको होइन ।
मैले बाँके क्षेत्र नम्बर १ मा जनताका माग सम्बोधन गर्नुपर्छ, मेरा केही अधुरा कामहरु छन् त्यसलाई पूरा गर्नुपर्छ भन्ने हिसाबले हो । म उहाँहरुदेखि कहीँ टाढा गएको छैन, कृपया मलाई त्यो ढंगले हेर्दै नहेर्नुहोला ।
नयाँ पार्टी, नयाँ चुनाव चिन्ह र सीमित संगठनात्मक संरचना भएको अवस्थामा तपाईं कसरी जित सुनिश्चित गर्न सक्नुहुन्छ ?
नेपालमा नयाँ संगठनहरूले पनि चुनाव जितेका उदाहरण छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटकमै २१ सिट जितेको हो । आज देशले नयाँ पुस्ता खोजिरहेको छ ।
पार्टीभन्दा व्यक्ति हेर्ने समय आएको छ । जनताको भावना बुझ्ने, काम गर्न सक्ने सक्षम व्यक्ति चाहिएको छ । म दुई पटक प्रत्यक्ष निर्वाचित भएर आफैंलाई प्रमाणित गरिसकेकी छु । पार्टी होइन, कृष्णा केसी नमुना उही हो । चुनाव चिन्ह बदिलएको हो, तर जनताले हेर्ने मेरो काम हो । मेरो जीवन बाँके जिल्ला र क्षेत्र नम्बर १ का लागि समर्पित छ ।
निर्वाचनको मुखमा पार्टी परिवर्तन गर्नु अवसरवाद हो भन्ने आलोचना छ । तपाईंको कदम विचारको निरन्तरता हो कि सत्ता र टिकटको खोजी ?
यो सत्ता र टिकटका लागि होइन । टिकट त यही पार्टीबाट पनि पाउँथे । म बहालवाला प्रदेश सभा सदस्य थिएँ, अझै दुई वर्ष कार्यकाल बाँकी थियो । सत्ता र टिकटको खोजी भएको भए म किन प्रदेश सभा छाड्थें ? मैले दल परिवर्तन गरेको छैन । भित्रका केही प्राविधिक र व्यवस्थापनसम्बन्धी कुरा नमिलेका मात्र हुन् । कृपया मलाई दल बदलु भनेर नहेर्नुहोला ।