Butwal Today

एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा

९ माघ २०८२, शुक्रबार
अ+
अ-

बुटवल, ९ माघ ।

समाजमा हुने विभिन्न प्रकृतिका अपराधजन्य कसुरमा संलग्न रहेको आरोपमा बुटवल प्रहरीले ५ सयभन्दा बढी मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

प्रहरीका अनुसार जघन्य अपराधमा संलग्न रहेको भन्दै ५१ जना मानिसलाई पक्राउ गरिएको हो । समाजमा हुने अवैध चोरी–लुटपाटमा संलग्न रहेको भन्दै १ सय ४० जनालाई समाउन सफल भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले अवैध भन्सार चोरी–तस्करी नियन्त्रण अन्तर्गत चलाएको सूक्ष्म अनुसन्धानबाट तस्करीमा संलग्न रहेका ९ जना मानिसलाई पक्राउ गरेको छ । उनीहरूबाट २ करोड ४६ लाख १८ हजारभन्दा बढी राजस्व उठाइएको छ ।

अवैध नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै एक वर्षमा ४३ वटा विभिन्न किसिमका सवारी साधन नियन्त्रणमा लिन सफल भएको हो । अवैध उत्खनन चोरीमा संलग्न ४१ जना मानिसलाई पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

अवैध रूपमा हुने वन पैदावार चोरी–तस्करी नियन्त्रणमा प्रहरीले नेपालमा प्रतिबन्धित पाँचौँले १६ केजी १ सय ग्राम, कटुकी ९ केजी ६ सय ग्राम, गिद्ध सिङे ५ थानलगायत सामान र १ जना मानिसलाई पक्राउ गरेको हो ।

लामो समयदेखि विभिन्न घटनामा संलग्न रही अदालतबाट दोषी ठहर भई फरार रहेका २ सय ८ जना मानिसलाई पक्राउ गरी कारागार चलान गरिएको छ, जसमा १ करोडभन्दा बढी जरिवाना समेत असुल गरिएको छ ।

प्रहरीले लागू औषध नियन्त्रणअन्तर्गत ६१ वटा मुद्दा दर्ता गरेकोमा १ सय १ जना मानिस पक्राउ परेका छन् ।

उनीहरूबाट ३० केजी गाँजा, १ सय ६ ग्राम ब्राउन सुगर, १२ सय ३७ एम्पुल डाइजेपाम, १३ सय ७२ एम्पुल फेनारागन, १ हजार एम्पुल नुफिन, ३ सय ५० क्याप्सुल स्पास, ३ सय १४ ट्याब्लेट नाइटाभेट र २ सय ५४ एम्पुल टाल्जेसिक समाउन सफल भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

प्रमुख रानाले एक वर्षमा २ सय २४ वटा मुद्दा दर्ता भएकोमा ५ सय ४१ जना मानिस पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सफल भएको बताए । रानाका अनुसार एक वर्षमा ४ करोडभन्दा बढी राजस्व समेत उठाउन सफल भएको छ ।