© 2026
बुटवल, ०९ माघ ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ३३ लाख ८६ हजार ६ सय ८० जना मतदाताले मतदान गर्ने भएका छन् ।
निर्वाचन आयोगबाट हालै प्रकाशित तथ्याङ्कअनुसार बागमती प्रदेश र कोसी प्रदेशपछि मतदाता सङ्ख्याका आधारमा लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको छ ।
प्रदेशमा कुल मतदान स्थलको सङ्ख्या १ हजार ६ सय ७१ वटा रहेका छन् भने कुल मतदान केन्द्र ३ हजार ९ सय ९८ वटा रहेका छन् ।
लुम्बिनी प्रदेशमा रहेका ३३ लाख ८६ हजार ६ सय ८० मतदातामध्ये १७ लाख १५ हजार १ सय ६३ जना पुरुष रहेका छन् भने १६ लाख ७१ हजार ४ सय ७९ जना महिला रहेका छन् ।
प्रदेशमा ३८ जना मात्रै अन्य लिङ्गी अन्तर्गतका मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा २०७९ सालको निर्वाचनपछि मात्रै १ लाख ३७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यो वृद्धि सामान्य तथ्याङ्क मात्र नभई नयाँ पुस्ताको लोकतान्त्रिक सहभागिताको सङ्केत पनि हो ।
रोजगारी, शिक्षा र नागरिकता प्राप्तिसँगै मतदाता सूचीमा नाम थपिँदै जाँदा निर्वाचन व्यवस्थापनको दायरा पनि फराकिलो बनेको छ ।
मतदाता वितरणले लुम्बिनीको सामाजिक–भौगोलिक यथार्थलाई स्पष्ट देखाउँछ । तराईका जिल्लाहरू रुपन्देही, कपिलवस्तु, दाङ र बाँके मतदाता सङ्ख्यामा अगाडि छन् । रुपन्देही मात्र ६ लाख ७२ हजारभन्दा बढी मतदातासहित प्रदेशकै ‘निर्णायक जिल्ला’को रूपमा उभिएको छ ।

प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा कुल मतदाता सङ्ख्या ३५ हजारभन्दा कम रहनुले भूगोल, बसाइसराइ र विकासको असन्तुलनलाई झल्काउँछ ।
लुम्बिनीमा पुरुष र महिला मतदाताको सङ्ख्या झन्डै बराबरीमा छ । यसले समावेशी लोकतन्त्रतर्फको सकारात्मक सन्देश दिए पनि ‘अन्य’ लैङ्गिक समूहका मतदाता सङ्ख्या ४० भन्दा कम हुनु अझै पनि पहिचान र पहुँचको चुनौतीको सङ्केत मानिन्छ ।
मतदाता सङ्ख्या बढेसँगै मतदान स्थल र मतदान केन्द्र पनि बिस्तार गरिएको छ । यस पटक प्रदेशभर १ हजार ६ सय ७१ मतदान स्थल र करिब ४ हजार मतदान केन्द्र तोकिएका छन्, जुन अघिल्लो निर्वाचनभन्दा बढी हो ।
कपिलवस्तु र रुपन्देहीमा सबैभन्दा धेरै मतदान केन्द्र तोकिएका छन् । यसले ती जिल्लामा लजिस्टिक व्यवस्थापन, सुरक्षा र जनशक्ति परिचालनलाई झनै संवेदनशील बनाएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमा ५ सय ९९ जना उम्मेदवार चुनावी मैदानमा छन् । लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा ५ सय ९९ मनोनयन दर्तामध्ये २ सय ५० जना स्वतन्त्र उम्मेदवार छन् भने ३ सय ४९ जना उम्मेदवार राजनीतिक दलका हुन् ।
कुल उम्मेदवारमध्ये ५६ जना महिला उम्मेदवार छन् । ३३ लाख ८६ हजार ६ सय ८० मतदाता रहेको लुम्बिनीमा १ हजार ६ सय ७१ मतदान स्थल र ३ हजार ९ सय ९८ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय लुम्बिनी दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
उनका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उम्मेदवार रुपन्देहीमा १ सय ५७ जना र सबैभन्दा कम रुकुम पूर्व र रोल्पामा १२–१२ जना उम्मेदवार रहेका छन् ।