© २०२३
काठमाडौं, ७ माघ ।
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन् ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन भएको थियो ।
बीमा बोर्ड नेतृत्वविहीन हुँदा कामकाज सुचारु राख्न डा. पौडेललाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ । डा. पौडेल हाल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।
डा. काफ्लेले सरकारी अस्पताललाई भुक्तानी रोकेर निजी अस्पताललाई मात्र रकम दिएको भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोध्ने तयारी गरेपछि पदबाट राजीनामा दिएका थिए । हाल सेवा प्रदायक अस्पतालहरूलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ ।
सरकारी अस्पताललाई सहयोग नगरेको आरोपमा डा. काफ्लेले राजीनामा दिएका हुन् । स्वास्थ्य मन्त्रालयले भने उनलाई स्पष्टीकरण माग्ने तयारी गरेको थियो ।