© २०२३
भैरहवा । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका शुसिल गुरुङ विद्यार्थी राजनीतिबाट खारिएर आएका अनुभवी, संगठक र समाजसेवी नेताका रुपमा परिचित छन् ।
तीन दशकभन्दा लामो राजनीतिक तथा सामाजिक यात्रामा उनले संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र सामुदायिक सेवामा निरन्तर योगदान दिएका छन् ।
गुरुङको राजनीतिक यात्रा २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यका रूपमा सुरु भयो ।
२०५४ सालमा नेपाल विद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पसको इकाइ अध्यक्ष बनेपछि उनी विद्यार्थी राजनीतिमा सशक्त रूपमा स्थापित भए ।
त्यसपछि २०५५ सालमा स्ववियु भैरहवा बहुमुखी क्याम्पसको उपसभापति र २०५७ सालमा सभापति निर्वाचित हुँदै नेतृत्व क्षमताको पहिचान गराए । यही क्रममा उनी स्ववियु परिषद् केन्द्रीय समितिको सह–सचिवसमेत बनेका थिए ।
२०६१ सालमा नेपाल विद्यार्थी संघ रुपन्देहीको अध्यक्ष बनेका गुरुङले संगठन विस्तार र विद्यार्थी हकहितका विषयमा सक्रिय भूमिका निर्वाह गरे । २०६२/०६३ को दोस्रो जनआन्दोलनमा उनको सक्रिय सहभागिताले लोकतन्त्र पुनःस्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पुर्यायो ।
पार्टी राजनीतिमा उनी निरन्तर जिम्मेवारीमा रहँदै आएका छन् । नेपाली काँग्रेसको १२औँ महाधिवेशनबाट रुपन्देही क्षेत्र नं. ३ का लागि क्षेत्रीय सचिव निर्वाचित गुरुङ १३औँ महाधिवेशनबाट पुनः यही पदमा निर्वाचित भए ।
१४औँ महाधिवेशनबाट भने उनी रुपन्देही क्षेत्र नं. ३ का क्षेत्रीय सभापति निर्वाचित भई संगठनलाई थप सुदृढ बनाउँदै आएका छन् । राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि गुरुङको योगदान उल्लेखनीय छ ।
२०५७ सालमा नेपाल तमु विद्यार्थी छोंज धीं केन्द्रीय समितिको सदस्य बनेर जातीय तथा सांस्कृतिक पहिचानको संरक्षणमा सक्रिय रहे । २०६६ सालमा सिद्धार्थ जेसिज (जेसीआई सिद्धार्थ, नेपाल) को अध्यक्ष भई युवाहरूको नेतृत्व विकासमा भूमिका खेलेका उनी हाल सो संस्थाका सल्लाहकार हुन् ।
मानवीय सेवामा उनको संलग्नता पनि गहिरो छ । २०७४ सालमा नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाको अध्यक्ष, २०८१ सालमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको जिल्ला उपसभापति तथा रक्त सञ्चार सेवा समिति, रुपन्देहीको संयोजकका रूपमा उनले आपतकालीन सेवा र रक्तदान अभियानलाई प्रभावकारी बनाएका छन् ।
साथै २०७४ मा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको अध्यक्ष तथा २०८२ मा लायन्स डिष्ट्रिक्ट ३२५ पिको डिष्ट्रिक्ट सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका छन् ।
शिक्षा क्षेत्रमा पनि गुरुङको सक्रियता निरन्तर देखिन्छ ।
२०७७ र २०८१ साल गरी दुई पटक पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवाको व्यवस्थापन समिति अध्यक्ष, २०७५ सालमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय सदस्य, २०७८ सालमा सोही महासंघ सिद्धार्थनगरको अध्यक्ष र २०८० सालमा सिद्धार्थनगर नगरपालिकाको शिक्षा समिति सदस्यका रुपमा उनले सामुदायिक विद्यालयको सुधार र गुणस्तर अभिवृद्धिमा काम गरेका छन् ।
विद्यार्थी राजनीतिदेखि पार्टी नेतृत्व, लोकतान्त्रिक आन्दोलन र सामाजिक सेवासम्मको लामो अनुभव बोकेका शुसिल गुरुङ अहिले रुपन्देही–३ का मतदातामाझ विकास, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राख्ने उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् ।