© 2026
बुटवल, २९ पुस ।
रुपन्देहीको सैनामैनाका व्यावसायिक बाख्रा पालन किसानले वि.सं. २०७८ सालमा सैनामैना नगरपालिका वडा नम्बर १ लखन पारामा युवा व्यावसायिक किसान प्रेम सागर पौडेलको फार्ममा भेला भए ।
व्यावसायिक रूपमा पशुपालन, विशेष गरी बाख्रा पालन गर्दै आएका युवा व्यवसायीहरूको साझा भेलाले फार्ममा उत्पादन भएको बाख्राको बजारीकरणमा ठोस समस्या नभए पनि उत्पादन भएको मल व्यवस्थित रूपमा बजारीकरण गर्ने र खेर जान नदिने योजना बनायो । त्यसैबाट जन्मियो सहकारी रुपन्देहीमा पहिलो पटक ‘लुम्बिनी कृषि तथा पशुपक्षी विकास सहकारी संस्था लिमिटेड ।’
सहकारीको सुरुवाती अगुवाइ प्रेम सागर पौडेलले गरे । नाम मात्रैको सहकारीको अवस्थामा सहकारीले उत्पादनमा जोड दिने गरी मल उद्योग स्थापना गर्ने योजना बनायो ।
२० लाख रुपैयाँ पुँजी भएको सहकारीले करोडभन्दा बढी लागतको मल उद्योग स्थापना गर्ने योजना अघि बढायो । उद्योगमा बाख्राको जुतोबाट अर्ग्यानिक/जैविक मल उत्पादन गरिन्छ, जसमा मलमा पाइने सबै तत्त्व हुने गरी योजना बनाइएको थियो ।
सहकारीका संस्थापक अध्यक्ष प्रेम सागर पौडेलका अनुसार सहकारी संस्था सैनामैना–४ मुर्गियामा छ ।
सुरुवाती दिनमा कुल सेयर सदस्य ३५ जना, कुल पुँजी रु. ८ लाख ७५ हजारबाट सुरु भएको संस्था २०८२ असार मसान्तसम्म कुल सेयर सदस्य ७७ जना, कुल पुँजी रु. २२ लाख ९५ हजार ५ र कुल सम्पत्ति रु. १ करोड २३ लाख ९८ हजार ६८३ बनाउन सफल भएको छ ।
सहकारीका अध्यक्ष सुनिल अर्यालका अनुसार सदस्यहरूको मिहिनेत र सहयोगले यो सम्भव भएको हो । सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुसार कुशलतापूर्वक संस्था सञ्चालन गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने योजना रहेको उनले बताए ।
अल्पकालीन र दीर्घकालीन उद्देश्य सफल बनाउन विभिन्न नीति–कार्यविधि तयार गरी सम्बन्धित संघसंस्थासँग समन्वय गर्दै समाधानतर्फ लैजाने योजना पनि बनाइएको छ ।
“उत्पादित मललाई बजारीकरणको लागि विभिन्न क्षेत्रका व्यवसायी किसानहरू, सरोकारवाला निकाय तथा स्थानीय निकायसँग सम्पर्क र समन्वय गरिएको छ”–अध्यक्ष अर्यालको भनाइ छ ।
सहकारी मार्फत स्थापना भएको मल उद्योगलाई थप व्यवस्थित बनाउँदै लैजानका लागि आर्थिक वर्षमा सञ्चालित दैनिक बचत कार्यक्रमलाई निरन्तरता दिँदै औद्योगिक बचत कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ ।
औद्योगिक लगानी कोष निर्माण गरी कोषलाई औद्योगिक लगानीको रूपमा लगानी गर्ने समेत योजना बनाइएको छ । सहकारीले सैनामैनानगरपालिका वडा नम्बर १ लखन पारामा मल उद्योग स्थापना गरेको छ । उद्योगले अन्य रासायनिक मलको विकल्पका रूपमा प्रयोग गर्न सकिने मल उत्पादन गरिरहेको छ ।
कृषि तथा पशुपालन क्षेत्रमा रहेका समस्याहरू दिगो र व्यवस्थित रूपमा समाधान गर्न, कृषि औद्योगीकरण, वित्तीय सबलता, सामाजिक सेवा उपलब्ध गराएर कृषिमा आत्मनिर्भर बनाउने कार्य अघि बढाइरहेको सहकारीका उपाध्यक्ष ईश्वरीप्रसाद भण्डारीले बताए ।
सहकारीले संस्थाको प्रभावकारिता बढाउन सञ्चालक समितिको बैठक नियमित बसेर कृषि व्यवसायमा उत्पन्न समस्याहरू समाधान गर्न विभिन्न निकाय, संघसंस्थासँग समन्वय गर्दै आएको छ । प्राङ्गारिक मल उद्योग अन्तर्गत उद्योग नियमित रूपमा उत्पादन र सञ्चालन भइरहेको छ ।
मुर्गिया कार्यालयबाट उद्योग क्षेत्र निर्माण तथा व्यवस्थापन गरी कार्यालय सारिएको छ । मल उद्योग सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन, कच्चा पदार्थ उत्पादन, सङ्कलन, प्रशोधन तथा आयात गरी उच्च गुणस्तरीय प्राङ्गारिक मल उत्पादन भइरहेको छ ।
उत्पादित मललाई बजारीकरणका लागि विभिन्न क्षेत्रका व्यवसायी, किसान, सरोकारवाला निकाय र स्थानीय निकायसँग समन्वय गरिएको छ ।
मलको गुणस्तर बढाउन विभिन्न मलका प्रकार उत्पादन गरी प्रयोगशालामा परीक्षण गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा गुणस्तर, बजार र लागत विश्लेषण समेत गरिएको छ ।
सहकारीले मल उद्योगलाई थप व्यवस्थित बनाउन दैनिक बचत कार्यक्रमलाई निरन्तरता दिँदै औद्योगिक बचत कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । औद्योगिक लगानी कोष निर्माण गरी कोषलाई औद्योगिक लगानीको रूपमा लगानी गर्ने योजना समेत बनाइएको छ ।
हाल सञ्चालित कृषक प्राङ्गारिक मल उद्योगलाई प्रभावकारी र क्षमतामुखी बनाउन, स्वचालित उत्पादन प्रक्रियामा सुधार, माटो र मलको गुणस्तर परीक्षण, जैविक जीवाणु, जैविक किटनाशक तथा ढुसीनाशक विषादीको परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना समेत बनाइएको छ ।
लुम्बिनी कृषि तथा पशुपक्षी विकास सहकारी संस्थाले पुँजीगत लगानी सुनिश्चित गरी कृषक प्राङ्गारिक मल उद्योगमा ५१ प्रतिशत सेयर रहने गरी लगानी गर्ने योजना बनाएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि न्यूनतम वार्षिक उत्पादन ३ लाख ७० हजार किलो तय गरिएको छ ।
सहकारीले आगामी दिनमा पशुपंक्षीपालन व्यवसायमा सबैभन्दा ठूलो समस्या भएको आहारा व्यवस्थापनका लागि फ्रेज प्यालेट दाना (सन्तुलित घाँसे पशुपक्षी आहारा) निर्माण, स्थापना तथा सञ्चालन गर्ने योजना समेत बनाएको छ ।
मल उद्योगका लागि लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत जिल्लाको भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रबाट करिब ३५ लाख रुपैयाँको उपकरण खरिद र संरचना निर्माणका लागि अनुदान समेत उपलब्ध गराइएको छ ।