© २०२३
पाल्पा, २७ पुस ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पाल्पामा नेपाली सेनाले बृहत् झाँकी प्रदर्शनी गरेको छ ।
सैनिक–नागरिक सम्बन्ध सुमधुर बनाउन र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने उद्देश्यसहित झाँकी प्रदर्शनी आयोजना गरिएको हो ।
नेपालका विभिन्न जातजाति, संस्कृति, रहनसहन र भेष भूषा झल्काउने झाँकीसहित नेपाली सेनाको टोलीले सदरमुकाम तानसेन बजार परिक्रमा गरेको थियो ।
दि फेमस महेन्द्र दल गणको आयोजनामा गरिएको सो कार्यक्रममा सेनाका अधिकृत, पदिक, सकलदर्जा तथा स्थानीय नागरिकको उत्साहजनक सहभागिता थियो ।
गणपति प्रमुख सेनानी शान्त कुमार थापाका अनुसार, कार्यक्रमले सैनिक–नागरिक सम्बन्ध अझ मजबुत बनाउने र राष्ट्रिय एकतालाई बलियो सन्देश दिने उद्देश्य लिएको हो ।
नेपाली सेनाको टोली नागपोखरी ब्यारेकबाट पञ्चेबाजासहित नाचगान गर्दै बसपार्क, क्याम्पस रोड, रणउजेश्वरी भगवती मन्दिर, निशान भगवती, पाल्पा दरबार संग्रहालय हुँदै श्री ७ अमरनारायण मन्दिर परिक्रमा गरी ब्यारेकमा फर्किएको थियो ।
सुबेदार प्रमुख जयप्रकाश बानियाँका अनुसार, झाँकी बिर्सजनपछि सेनाले पृथ्वी नारायण शाहकै भेषमा सजिएर उहाँको योगदान स्मरण गरिएको थियो ।
यस अवसरमा नेपाली सेनाले बृहत् फोटो प्रदर्शनी पनि आयोजना गरेको थियो, जसमा सेनाले गरेका नियमित गतिविधि, राष्ट्रिय गौरवका आयोजना, शान्ति मिसनमा खटिएका टोलीका गतिविधि तथा प्राप्त सम्मान–पुरस्कार प्रदर्शन गरिएको थियो ।
राष्ट्रिय एकता र गौरवका प्रतीक पृथ्वी नारायण शाहको सम्झनामा गरिएको यो झाँकी प्रदर्शनीले “विविधतामा एकता र नेपालीपन” को सन्देश फैलाएको छ ।