© 2026
काठमाडौँ ।
प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि खटाइने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ ।
पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत इच्छुक उम्मेदवारबाट आवेदन लिइँदै आएको छ ।
दुई दिनमै २७ हजारभन्दा बढी आवेदन सङ्कलन भएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई जानकारी दिए ।
नेपाल प्रहरीले यसपटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ । निर्वाचन प्रहरी भर्ना तथा परिचालनका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरिसकेको छ ।
दरखास्त आह्वान गरिएको दोस्रो दिन शनिबार मात्रै १७ हजार जनाले आवेदन दिएका छन् । निर्वाचन प्रहरीमा भर्ना हुन माघ १ गतेसम्म दरखास्त दिन सकिने छ ।
यसपटक सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरीको कोटा पाएको छ । सशस्त्र प्रहरी बलले जिल्ला सुरक्षा समितिमार्फत आवेदन सङ्कलन गरी निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइरहेको छ ।
सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको छ ।