© २०२३
आज राष्ट्रनायक, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्म जयन्ती ।
आजभन्दा २५३ वर्ष अघि जन्मिएका शाहले गरेको अथक बहादुरी र साहसकै कारण आज हामीले नेपालीको रूपमा चिनाउन पाएका छौँ । बाइसे चौबिसे राज्यलाई एकीकरण गरी विशाल नेपाल निर्माणमा उहाँको योगदान कसैले बिर्सन सक्दैन । नेपालको एकीकरणमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान छ ।
उहाँले त्यो ऐतिहासिक कदम नचालेको भए आजको नेपाल कि साना साना टुक्रे राज्यमा विभाजित हुन्थ्यो कि भारतमै विलय भैसकेको हुन्थ्यो । नेपालका साना साना भुरे टाकुरे राज्यहरूलाई एकीकरण गरेर सिंगो र एकताबद्ध नेपाल बनाउन उनै पृथ्वीनारायण शाहले ठूलो त्याग र बलिदानमात्रै होइन बहादुरी प्रदर्शन गरेका थिए ।
तिनै नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको सम्झना स्वरूप हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाउने गरिएको छ । सरकारले पुस २७ लाई राष्ट्रिय पर्वको रूपमा सार्वजनिक विदा दिने गरेको छ । पुस २७ गते सार्वजनिक विदा दिने प्रचलन धेरै भएको छैन । जेहोस टुक्राटुक्रामा बाँडिएको विभिन्न भुरे टाकुरे राज्यलाई एउटै मालामा उनेर नेपाल राष्ट्र निर्माणमा उनले गरेको योगदान अतुलनीय छ । त्यही एकीकरण अभियानकै कारण आज हामीले नेपाली भनेर गर्व गर्ने मौका पाएका छौँ भन्दा अन्यथा हुँदैन ।
पृथ्वीनारायण शाह नभएको भए आजको यो नेपाल सायदै कल्पना गर्न सकिने थिएन । यो देश भारतमा विलय हुन्थ्यो भन्ने कुरामा धेरैको बिमति छैन् ।
पृथ्वीनारायण शाहले गरेको असल कामको विरोध गर्नेहरूले उनको योगदान कम आँक्न सक्छन तर यो सत्य सावित भैसकेको छ कि आज पृथ्वीनारायण शाहकै कारण हामी नेपाली हौं भन्ने गर्व गर्न सकेका छौँ । पृथ्वीनारायण शाहले केवल नेपाल एकीकरण गरेर आजको विशाल नेपाल मात्रै निर्माण गरेनन्, आफ्नो जीवनको अन्तिम अवस्थातिर उनले दिएको ‘दिव्योपदेश’ सन्देश आजको दिनमा पनि उत्तिकै महत्वपूर्ण छ ।
उनले त्यही बेला भनेको ‘दुई ढुंगाबीचको तरुल’ आजका दिनमा पनि उत्तिकै सान्दर्भिक छ । दिब्योपदेशले नेपाललाई रणनीतिक चातुर्यका बिषयमा कसरी अघि बढ्ने भन्ने बिषय सिकाएको छ । दिव्योपदेश आफैँमा मार्गदर्शक रहेको छ ।
देशको सुरक्षाका लागि भौगोलिक सिमाना, नाका र गौँडामा कस्ता व्यक्तिहरू राख्नु पर्छ भन्ने कुरामा पनि उनले उपदेश दिएका छन् । देशको प्रशासन चलाउने र सुरक्षा गर्ने कार्यमा आफूले नचिनेको विदेशी व्यक्तिलाई दरबारभित्र नछिराउनु, तिनीहरूले दरबारलाई पूर्ण रूपमा बिगारिदिन्छन् भन्ने उनको उपदेश र विचार पाइन्छ ।
राजा र जनताबीचको सम्बन्ध सुमधुर हुनुपर्छ भन्ने उनको विचार थियो । दिव्योपदेशमा भनिएको छ–‘राजा भएर आफ्ना जनतालाई परेको अन्याय राम्ररी विचार पु¥याएर हेर्नुपर्छ, देशमा अन्याय पर्न दिनु हुँदैन । यसले गर्दा प्रजामा अशान्ति हुन्छ । नियाँ–निसाफ बिगार्नु भनेको घुस खाने र दिने दुवै कार्य हो ।
जब कसैले कसैलाई घुस दिन्छ र घुस खान्छ भने त्यहाँ अन्याय हुन सक्छ । त्यसैले उनीहरू राज्यका ठुला शत्रु हुन् ।
राजाले ठूला निञा निसाप हेर्नु, अन्याय मुलुकमा हुन न दिनु, निञा निसाप बिगान्र्या भन्या को घुस दिन्या र घुस षान्या इन दुई का ता धन जीव गरि लिया को पनि पाप छैन, इ राजा का मह सतुर हुन ।’
जेहोस् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आजभन्दा अढाईसय वर्ष अघि गरेको भविष्यबाणी अहिलेपनि उत्तिकै सान्दर्भिक छ ।
पछिल्लोसमय पृथ्वीनारायण शाहप्रति आम जनताको चासो र श्रद्धा बढ्दै गएको छ । त्यो श्रद्धाप्रति उनले गरेको कामको प्रतिविम्व झल्किन्छ । पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता, युगपुरुष, राष्ट्रभक्त र सर्वोपरि रूपमा आधुनिक नेपालका निर्माता हुन भन्दा अत्युक्ति हुँँदैन ।
एकीकरणका दौरान विविध संघर्ष र पराजयको सामना गर्नुपरे पनि क्रमशः एक–एक खुड्किला पार गर्दै जानु उनको अदम्य साहस र तीव्र देशभक्तिको परिचायक थियो ।