Butwal Today

जेनजी आन्दोलनमा साढे २३ करोड नगद खरानी

२५ पुष २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं, २५ पुस ।

२३ र २४ भदौको जेनजी आन्दोलनमा साढे २३ करोड रुपैयाँभन्दा बढी नोट जलेर नष्ट भएको छ ।

आन्दोलमा कुल नगद क्षति साढे ७८ करोड भए पनि जलेर नष्ट भएको रकम २३ करोड ६९ लाख रुपैयाँ बराबर रहेको छ ।

जेनजी आन्दोलपछि बनेको अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समितिको २०८२ सालको प्रतिवेदन अनुसार नगद तथा बहुमूल्य वस्तु वा सम्पत्तिमा पुगेको कुल क्षति २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबर छ ।

त्यसमध्ये चोरीका कारण ३२ करोड ८१ लाख रुपैयाँ क्षति भएको छ भने तोडफोडका कारण नगदमा २२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । कुल क्षति रकममध्ये चोरीबाट ५७.५ प्रतिशत, तोडफोडबाट ११.६ प्रतिशत र आगजनीबाट ३०.९ प्रतिशत क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

सुन, चाँदी, हिरा र मोती जस्ता बहुमूल्य धातुमा चोरीबाट १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबर क्षति पुगेको छ । यस्ता धातुमा आगजनी र तोडफोडका कारण क्रमशः १३ करोड ११ लाख र ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । अन्य बहुमूल्य वस्तुमा पनि चोरी मुख्य क्षतिको कारण देखिएको छ ।

निजी प्रतिष्ठानहरूसँग रहेको नगद मौज्दात तथा सुनचाँदी लगायत बहुमूल्य वस्तुमा पुगेको क्षति ५६ करोड १८ लाख रुपैयाँ बराबर छ । यो रकम निजी प्रतिष्ठानहरूले बेहोरेको कुल क्षतिको २.६ प्रतिशत हो ।

नगद तथा बहुमूल्य वस्तुमा भएको क्षति मुख्यत: चोरी र आगजनी घटनाबाट भएको देखिन्छ । कुल क्षति रकममध्ये सबैभन्दा ठूलो अंश अन्य बहुमूल्य वस्तुको ६३.२ प्रतिशत रहेको छ ।

नगदतर्फ कुल २० करोड ३९ लाख रुपैयाँ क्षतिमध्ये सबैभन्दा धेरै ६७.९ प्रतिशत आगजनीबाट भएको छ भने चोरीको कारण २०.६९ प्रतिशत रहेको छ ।

घरपरिवारको नगद तथा बहुमूल्य वस्तुमा भएको क्षति हेर्दा सबैभन्दा बढी क्षति सुन, चाँदी, हिरा र मोतीमा ७५ करोड ३१ लाख रुपैयाँ बराबर रहेको छ ।

नगदमा १२ करोड ६५ लाख र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ लाख रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । क्षतिको कारण अनुसार हेर्दा चोरीबाट ७३ करोड ४३ लाख, आगजनीबाट १७ करोड ६ लाख र तोडफोडबाट ५ करोड ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सामुदायिक तथा अन्य क्षेत्रको नगद तथा बहुमूल्य वस्तुमा भएको क्षतिमध्ये नगदतर्फ ३३ करोड ७० लाख र अन्य बहुमूल्य वस्तुमा १६ करोड २३ लाख रुपैयाँको क्षति भएको देखिन्छ ।