© 2026
काठमाडौँ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकारले सुरक्षा तयारीलाई तीव्रता दिएको छ ।
नेपाल प्रहरीले आजदेखि देशभर ‘निर्वाचन प्रहरी’ (साविकको म्यादी प्रहरी) को भर्ना प्रक्रिया शुरू गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने लक्ष्य राखिएको छ ।
यसमा नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बलले १५ हजार १ सय १० जनाको कोटा पाएको छ ।
गृह मन्त्रालयको स्वीकृतिपछि नेपाल प्रहरीले आजदेखि नै आवेदन खुला गरेको हो । देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा इच्छुक उम्मेदवारको लाइन लाग्न थालेको छ ।
काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रहरी परिसर र उपत्यकाबाहिरका सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।
आवेदन दिने अन्तिम मिति माघ १ गतेसम्म तोकिएको छ । सार्वजनिक बिदाको दिनमा पनि फारम बुझाउन सकिने प्रहरीले जनाएको छ ।
निर्वाचन प्रहरी बन्नका लागि उम्मेदवारले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । शैक्षिक योग्यता साधारण लेखपढ जान्न सक्ने भए पुग्छ ।
साथै, उम्मेदवार कुनै राजनीतिक दलको सदस्य नभएको, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको र शारीरिक/मानसिक रूपमा तन्दुरुस्त हुनुपर्छ ।