Butwal Today

कोशीमा मन्त्री फेर्ने तयारी

२२ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, २२ पुस ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।

नयाँ मन्त्रीहरूको शपथग्रहणका लागि प्रदेश प्रमुखसँग मंगलबार साँझ साढे ४ बजेको समय तय गरिएको छ । वर्तमान सरकारमा रहेका सबै मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् । कोशी प्रदेशमा गठबन्धनमा रहेका कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरू फिर्ता गरी नयाँ अनुहार पठाउने समझदारी यसअघि नै गरेका थिए ।

उक्त समझदारीपछि आजै नयाँ मन्त्रीहरूको शपथग्रहण हुने टुंगो लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । हालको सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई तथा राज्यमन्त्री सिर्जना राई छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हांगाम छन् । सरकारमा रहेका मन्त्रीहरूले आजै राजीनामा दिने एमाले नेता समेत रहेका मन्त्री भण्डारीले जानकारी दिए ।

उनीहरूको राजीनामापछि एमालेबाट विदुर लिङ्थेप, चिन्तन पाठक, इन्द्रमणि पराजुली र रामकुमार महतो मन्त्री बन्ने भएका छन् । लिङ्थेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, पराजुलीलाई आन्तरिक मामिला तथा कानुन तथा महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

उमाकान्त गौतमलाई राज्यमन्त्री बनाउने तयारी गरिएको छ । कांग्रेसबाट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू र इस्राइल मन्सुरी मन्त्री बन्नेछन् । सुनुवारलाई भौतिक पूर्वाधार, पराजुलीलाई पर्यटन, वन तथा वातावरण, लिम्बूलाई स्वास्थ्य तथा मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । शोभा चेम्जोङ राज्यमन्त्री बन्नेछिन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार विगतमा भागबण्डामा परेका मन्त्रालयहरू नै दुई दलले लिनेछन् । ‘मन्त्रालय उही हुन्, व्यक्ति मात्र फेरिने तयारी हो,’ स्रोतले भन्यो, ‘फेर्ने भनिएको धेरै भइसक्यो ।’