© 2026
बुटवल, २२ पुस ।
नेपाल–भारत सीमा क्षेत्र रुपन्देहीका क्यासिनोहरू पछिल्लो समय विवाद, हिंसा र अनियमितताको केन्द्र बन्दै गएका छन् ।
गएको महिना भैरहवास्थित निर्वाणा होटल परिसरमा सञ्चालित गोल्डेन स्टार क्यासिनोमा नेपाली र भारतीय ग्राहकबिच विवाद चर्किँदा गोली नै चलेको घटना यसको ज्वलन्त उदाहरण हो ।
नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा प्रतिबन्ध हुँदाहुँदै पनि विवादमा नेपाली संलग्न हुनु र भारतीय नागरिकले सुरक्षा गार्डमाथि गोली प्रहार गरी सीमा पार गर्नुले सुरक्षा संयन्त्रको कमजोरी उजागर गरेको छ ।
सीमावर्ती सुनौली नाकाबाट करिब चार किलोमिटर दूरीमा रहेको उक्त क्यासिनोमा भएको घटनापछि पनि दोषी भारतीय नागरिक अझै पक्राउ परेका छैनन् । प्रहरीका अनुसार भारतीय नागरिक आधार कार्डकै भरमा क्यासिनो प्रवेश गर्ने गरेका छन्, जसले नियन्त्रणलाई थप जटिल बनाएको छ ।
अदालत पुगेको क्यासिनो विवाद
भैरहवामै रहेको एसियन बुद्ध होटलको एलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर (मिनी क्यासिनो) भने अर्कै विवादमा फसेको छ । शेयर स्वामित्व र व्यवस्थापन अधिकारलाई लिएर सञ्चालक र अध्यक्षबिचको विवाद अदालतसम्म पुगेको छ । यसले क्यासिनो क्षेत्रमा लगानी, सञ्चालन र नियमन कति अस्थिर छ भन्ने देखाउँछ ।
यसैबिच, भैरहवा क्षेत्रका अन्य क्यासिनोहरूमा पनि भारतीय मदिरा प्रयोग, नेपाली नागरिकको अवैध प्रवेश, राजस्व छली तथा सुरक्षा मापदण्डको बेवास्ता जस्ता गम्भीर समस्या देखिएका छन् । पाँचतारे (स्टार लेवल) होटलमा मात्र क्यासिनो सञ्चालन गर्नुपर्ने नियम हुँदाहुँदै गेष्ट हाउस र मिनी होटलमा समेत क्यासिनो चलाइएको पाइएको छ ।
नियमावली कागजमै सीमित
क्यासिनो नियमावली–२०८२ प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा यी समस्या बढ्दै गएको सरोकारवालाहरूको ठहर छ । रूपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार गोली चलाउने भारतीय नागरिक पहिचान भए पनि सीमा क्षेत्र भएकाले पक्राउमा कठिनाइ भइरहेको छ ।
“भारतीय नागरिक आधार कार्डका आधारमा क्यासिनो प्रवेश गर्छन् । हामीले अवैध भारतीय मदिरा समेत बरामद गरेका छौँ,” कार्कीले भने, “नेपाली नागरिकलाई प्रवेश नदिने विषयमा कडाइ गरिएको छ ।” गोली चलाउने घटनामा संलग्न अभियुक्त पक्राउको प्रयास गरिरहेको तर सफलता हात लाग्न नसकेको उनले बुटवल टुडेलाई बताए ।

–“क्यासिनो नियमावली २०८२ को पर्यटन विभागले कार्यान्वयन गराइरहेको छ । कार्यान्वयन नगर्नेमाथि भने कानुन बमोजिम कारबाही हुन्छ”
हिमाल गौतम
निर्देशक पर्यटन विभाग
तर स्रोतहरूका अनुसार केही नेपाली नागरिकले अस्थायी भारतीय आधार कार्ड बनाएर क्यासिनो प्रवेश गर्ने गरेका छन् । यस्तो गतिविधि रोक्न नसक्दा क्यासिनोभित्र झगडा, अवैध कारोबार र सुरक्षाको जोखिम बढिरहेको छ ।
जिल्लामा हाल सातवटा क्यासिनो सञ्चालनमा छन् । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार प्रशासनको मुख्य चासो सुरक्षामै केन्द्रित छ ।
“घटना भएपछि सबै क्यासिनो सञ्चालकलाई बोलाएर छलफल गराएका छौँ,” प्रजिअ पोखरेलले भने, “प्रवेशमा कडाइ गर्न भनेका छौँ । क्यासिनो नियमावली–२०८२ कार्यान्वयन पर्यटन विभागको जिम्मा हो ।”
उनले अस्थायी भारतीय आधारकार्ड बनाएर भारतीय प्रवेश गर्ने कुरालाई कडाइ गर्दै चेकजाँचलाई तीव्र पारिएको बताए । “डण्डामै एकीकृत सुरक्षा दस्ता तयार गरी चेकजाँचलाई कडा पारिएको छ, व्यवसायीले पनि यसमा सहयोग गर्ने हो भने शान्ति सुरक्षामा थप सहयोग पुग्छ”–उनले भने ।
क्यासिनो क्षेत्रमा राजस्व छलीको आशंका बढेपछि राजस्व अनुसन्धान कार्यालयले क्यासिनो सञ्चालकसँग ९ बुँदे विवरण माग गर्दै अनुसन्धान अघि बढाएको छ । आर्थिक वर्ष २०८१/८२ देखि हालसम्मको कर, इजाजत, नगद तथा वित्तीय कारोबार, आकस्मिक लाभकर, आधार कार्ड प्रयोग गरी प्रवेश गर्ने नेपालीको विवरण, प्रतिबन्धित भारतीय नोटको कारोबार, सीसीटीभी अभिलेख र इजाजत नवीकरणसम्बन्धी कागजात पेश गर्न निर्देशन दिइएको छ ।
–“डण्डामै एकीकृत सुरक्षा दस्ता तयार गरी चेकजाँचलाई कडा पारिएको छ, व्यवसायीले पनि यसमा सहयोग गर्ने हो भने शान्ति सुरक्षामा थप सहयोग पुग्छ”–
माधवप्रसाद पोखरेल
प्रजिअ, रूपन्देही
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राधेश्याम दाहालका अनुसार अदालतमा मुद्दा परेका दुईवटा बाहेक अन्य क्यासिनोको अनुसन्धान सकिएको छ । “अनुसन्धानका क्रममा मापदण्ड उल्लंघन गरेको भेटिएन” दाहालले भने । उनले अनुसन्धान सकेका क्यासिनोहरूले मापदण्ड भने पालना गरेको पाइएको बताए ।
अनुगमनका क्रममा क्यासिनोमा प्रवेश गर्दा अनिवार्य प्रयोग गर्नुपर्ने मेटल डिटेक्टर अधिकांशले प्रयोग नगरेको, ग्राहक इन्ट्री विवरण नराखिएको र प्रशासनले माग्दा सीसीटीभी फुटेज उपलब्ध नगराइएको गुनासो छ ।
क्यासिनो नियमावलीअनुसार मिनी क्यासिनोमा टेबल राखेर तास खेलाउन नपाइने व्यवस्था छ । तर रुपन्देहीका मिनी क्यासिनोहरूमा नियम विपरीत टेबल राखेर जुवा खेलाइएको भेटिएको छ ।
अनुगमन आयो, तर प्रभाव परेन
पर्यटन विभागको टोलीले रूपन्देही र आसपासका क्यासिनो अनुगमन गरे पनि व्यवसायीहरू प्रभावकारी अनुगमन नभएको गुनासो गर्छन् । एक दिन भैरहवामा बसेर टोली कपिलवस्तु गएको र मिनी क्यासिनोका बेथिति नजरअन्दाज गरिएको उनीहरूको आरोप छ ।
रुपन्देहीमा निर्वाणा होटलको गोल्डेन स्टार, होटल लाकौलको ह्याप्पी आवर ग्यामिङ क्लब, नान्स होटलको क्यासिनो प्याराडाइज, मौर्य होटलको ग्याम्बलिङ ग्यालेक्सी, एसियन बुद्ध होटलको एलिगेन्ट इन्टरटेनमेन्ट र भैरहवा गार्डेन रिसोर्टमा मिनी क्यासिनो सञ्चालनमा छन् । ठूलो क्यासिनो भने टाइगर प्यालेस बाइ सोल्टीमा मात्र छ ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमले क्यासिनो नियमावली २०८२ को पर्यटन विभागले कार्यान्वयन गराइरहेको भन्दै कार्यान्वयन नगर्नेमाथि भने कानुन बमोजिम कारवाही हुने बताए । “विभागले यस सम्बन्धमा क्यासिनोहरूलाई परिपत्र पनि गरेको छ,” गौतमले भने, “ऐन बाहिर गएर सञ्चालन भएको पाइए कानुनी कारबाही हुन्छ ।
स्थलगत अनुगमनपछि तयार हुने प्रतिवेदनका आधारमा क्यासिनोमाथि कारबाही गरिने विभागको भनाइ छ । साथै, सुरक्षाका लागि २० जना बाउन्सर अनिवार्य राख्ने व्यवस्था पनि कडाइका साथ लागू गर्ने तयारी छ ।
सीमा क्षेत्रका क्यासिनोमा भारतका ठूला खेलाडीहरू आउने क्रम बढ्दै गएकाले सुरक्षा, राजस्व र सामाजिक प्रभावको प्रश्न अझ गम्भीर बन्दै गएको छ ।
