Butwal Today

वीरगञ्जका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी

२१ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा लागू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि किसिमका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम शान्ति–सुरक्षा कायम राख्न यो कदम चालिएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शङ्कराचार्य गेट तोकिएका छन् । प्रशासनले तोकिएको सिमानाभित्र आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।