© 2026
काठमाडौँ ।
न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब नवौँ एनभीए भलिबल च्याम्पियनशिपको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–७ ले जितेको हो ।
यस्तै, दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१८ ले जित्दा आर्मीले दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको थियो ।
प्रतियोगिताअन्तर्गत आजै पुरुषतर्फको पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
महिला तथा पुरुष दुवैतर्फका फाइनल खेल भोलि आयोजना हुनेछन् ।